काठमाडौं ।
कतारको दोहामा रहेको भारतीय टिम मैत्रीपूर्ण खेलमा जोर्डनसँग २–० ले पराजित भएको छ । कतार एससी स्टेडियममा भएको खेलमा दोस्रो हाफमा सम्हालिन नसक्दा भारत पराजित भएको हो । खेलको पहिलो हाफमा भारतले सावधानीपूर्वक खेलेको थियो ।
पहिलो १० मिनेटमा जोर्डनले भारतको बक्सको छेउमा फ्रि–किक पाएको थियो । तर, जोर्डनले त्यो समयमा गोल गर्ने मौका गुमायो । २० औं मिनेटमा हम्जा अल्दाराद्रेहलाई भारतको डिफेन्सको पछाडिबाट खेलाइएको थियो । तर उनले बललाई नियन्त्रण गर्न सकेनन्, किनकि गुरप्रीत सिंह सन्धुले आफ्नो लाइनबाट हतारिएर बल संकलन गरे।
दोस्रो हाफमा भारतले धेरै जोशका साथ खेले पनि हार टार्न सकेन । दोस्रो हाफको तीन मिनेटमा बायाँबाट आएको क्रसलाई सुभाषिस बोसले सुनिल क्षेत्रीलाई लक्षित गरे पनि पासको अन्तिममा पुग्न सकेनन्। जोर्डनले ७५ औं मिनेटमा मुन्थर अबु अमरहको गोलबाट अग्रता लियो ।
भारतले गोल फर्काउने अवसर पाए पनि सफलता हासिल गर्न सकेन । खेलको इन्जुरी समयमा मोहम्मद अबु जरैकले गोल गर्दै जोर्डनलाई २–० ले जित दिलाए । एएफसी एसियन कप छनोटअघि भारतले जोर्डनसँग मैत्रीपूर्ण म्याच खेलेको हो । एसियन कप छनोटतर्फ भारत समूह ‘डी’ मा छ ।
भारतले एसियन कपमा हङकङ, अफगानिस्तान र कम्बोडियाविरुद्ध खेल्नेछ । वर्तमान समयमा जोर्डन फिफा वरियताको ९१ औं र भारत १०६ औं स्थानमा छ । एसियन कप छनोटको तयारीमा रहेको नेपाली टोली पनि अभ्यासका लागि कतारमा छ । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा गएराति टिमोर लिस्टेविरुद्ध २–२ बराबरी खेल्यो ।
पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दै २–२ को अवस्थामा खेल सकायो । एसियन कपमा नेपाल समूह ‘ए’ मा छ । नेपालले जोर्डन, कुवेत र इन्डोनेसियाविरुद्ध खेल्नेछ । नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन् । खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन् ।