काठमाडौं ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा अमेरिकाले स्कटल्याण्डलाई १०४ रनले हराएको छ । एकदिवसीय अन्तर्राष्ट्रियमा स्कटल्याण्डमाथि अमेरिकाको यो हालसम्मकै फराकिलो जित हो । गएराति भएको खेलमा अमेरिकाले घरेलु मैदानमा यो उपलब्धि हासिल गर्न सफल भयो ।
स्कटल्याण्डले भने अमेरिका भ्रमणमा खराब सुरुवात गर्यो । पहिलो खेलमा अमेरिकाले दिएको ३११ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २०६ रन मात्र बनाउन सक्यो । उसका लागि जर्ज मुन्सेले ५४, कलुम म्याल्योडले ४०, कप्तान कायल कोएट्जरले २८, रिची बेरिङ्टनले २४, आन्द्रेन निलले अजिजित १४ र हम्जा ताहिरले १३ रन बनाए ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । अमेरिकाका लागि सौरभ नेत्रावल्करले १० ओभरमा एक मेडनसहित ४५ रन दिएर ५ विकेट लिए । त्यस्तै, निसर्ग पटेलले दुई, रस्टी थेरोन, नोस्टुश केन्जिगे र स्टिभन टेलरले एक/एक विकेट लिए ।
त्यसअघि परल्याण्डस्थित च्वाइस मूसा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३१० रन बनायो । उसका लागि सुशान्त मोदानीले ७७, गजानन्द सिंहले अविजित ६०, स्टिभन टेलरले ४२, आरोन जोन्सले ३५, रिसग पटेलले अविजित ३४, कप्तान मोनांक पटेलले २९ र साइतेजा मुक्कामल्लाले १४ रन बनाए ।
स्कटल्याण्डका लागि आन्द्रेन निलले सर्वाधिक दुई विकेट लिए । यो जितसँगै अमेरिका विश्वकप लिग–२ को अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसले १७ म्याच खेल्दा आठमा जित र ९ खेलमा हार बेहोरेको छ । स्कटल्याण्डले १७ मध्ये ११ मा जित र चार खेलमा मात्र हारको सामना गरेको छ ।
विश्वकप लिग–२ मा नेपालले अहिलेसम्म १२ म्याच खेलेको छ । जसमा नेपालले ६ मा जित र ६ खेलमा हार बेहोरेको छ । अहिले नेपाल १२ अंकका साथ छैटौ. स्थानमा छ । नेपालले अब केही दिनमा यही प्रतियोगिताअन्तर्गत अमेरिकामा सिरिज खेल्दैछ । जहाँ नेपालले अमेरिकासहित ओमानको सामना गर्नेछ ।
नेपालले पहिलो खेल ओमानसँग जुन ९ तारिखमा खेल्नेछ । त्यसपछि जुन ११ मा नेपाली टिमले अमेरिकासँग खेल्नेछ भने जुन १४ मा ओमानसँग दोस्रो खेल खेल्ने तालिका रहेको छ । यस्तै जुन १५ मा अमेरिकासँग दोस्रो खेल्ने छ ।
आईसीसी विश्वकप लिग–टू प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नु पर्छ । अहिलेसम्म ३२ म्याच खेलेको ओमानले १९ खेलमा जित र १ खेलमा बराबरी गर्दा १ खेल भने नतिजा बिहीन बनेको थियो । ओमान ४० अंकसहित शीर्ष स्थानमा छ ।