काठमाडौं ।
आगामी आर्थिक वर्ष २०७९/८० का लागि युवा तथा खेलकुद मन्त्रालयको बजेट घटेको छ । संसदमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।
चालू आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सरकारले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लर्ड लाइट जडान गर्ने प्रक्रिया अघि बढाउने भएको छ ।
यस्तै, राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको मूलपानी क्रिकेट मैदानलाई यो आर्थिक वर्षमा सम्पन्न गरिने बजेटमा उल्लेख गरिएको छ । चितवनमा अहिले अलपत्र परेको निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान केन्द्र र प्रदेश सरकारको समन्वयमा पूरा गर्ने कुरा पनि बजेटमा उल्लेख गरिएको छ ।
फाप्ला मैदानका लागि बजेट छुट्याइएको छ भने कोहलपुर मैदानका लागि पनि बजेट विनियोजन भएको जनाइएको छ । यसैगरी, नेपालमा विदेशी फ्रेन्चाइज प्रतियोगिता आयोजना गर्नका लागि प्रोत्साहन गर्ने गरिने भनिएको छ ।
गण्डकी प्रदेशमा २८ असोज देखि ३ कार्तिकसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पर्ने बजेट विनियोजन भएको पनि अर्थमन्त्री शर्माले बताए । यसैगरी, उनले कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माणमा पनि बजेट विनियोजन गरिएको जानकारी गराएका छन् ।
त्यस्तै, सरकारले चितवनमा अधुरो रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सम्पन्न गर्ने जनाएको छ । जारी बजेटमा अर्थमन्त्री शर्माले भनेका छन्, ‘चितवनमा अधुरो रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम पूरा गर्ने व्यवस्था मिलाइनेछ ।’ धुर्मुस–सुन्तली फाउण्डेसनको अगुवाइमा सुरु भएको यो रंगशाला सो फाउण्डेसनले बीचमै छाडेपछि अहिले अलपत्र अवस्थामा छ ।
