काठमाडौं ।
इण्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मुम्बई इन्डियन्स (एमआई) को लागि अत्यन्तै निराशाजनक रह्यो । मुम्बईको टोलीले यो सिजन खेलेका १४ मध्ये चार खेल मात्रै जित्न सक्यो । ऊ अंक तालिकाको अन्तिममा रह्यो ।
मुम्बई पाँचपटकको च्याम्पियन टोली हो । उसले उत्कृष्ट कमब्याक गर्दै उपाधि जितिसकेको छ । तर, यसपटक भने मुम्बईले सो लय दोहोर्याउन सकेन । यसपालि गरेको गल्ती सच्याउँदै मुम्बईले अर्को सिजनमा उपाधि जित्ने लक्ष्य राखेको छ ।
मुम्बईका महत्वपूर्ण ब्याटर सूर्यकुमार यादवले पनि अर्को सिजनका लागि टोलीको लक्ष्य उपाधि जित्नु रहेको बताएका छन् । इन्स्टाग्राममा सेयर गरेको भिडियोमा उनले भनेका छन्, ‘जे गरे पनि छैटौं ट्रफी ल्याउनै पर्छ। दुर्भाग्यवश, यो वर्ष यो नहुन सक्छ । तर अर्को वर्ष हामीले जसरी पनि ट्रफी जित्नुपर्छ । डेवाल्ड ब्रेभिस यस सेटअपमा नयाँ व्यक्ति हुन्, त्यसैले उनले यो ट्रफी उठाउन के गर्नुपर्छ भन्ने कुरा बुझ्नुपर्छ। यो राम्रो कुरा हो ।’
सूर्यकुमारले चोटका कारण मुम्बईका लागि सुरुका केही खेल गुमाएका थिए । तर, मैदानमा फर्किएपछि उनको प्रदर्शन उत्कृष्ट रह्यो । सिजनको अन्त्य हुनुअघि उनी फेरि घाइते भए । केही फाइनल खेलबाट पनि पनि बाहिरिए ।
यसपालि सूर्यले मुम्बईका लागि ८ खेलमा ४४ को औसतमा ३०३ रन बनाए । र, उनी आफ्नो टोलीका लागि तेस्रो सर्वाधिक रन बनाउने खेलाडी बने। उनले यस सिजनमा सर्वाधिक ६८ रन बनाएर तीन अर्धशतकीय पारी खेले । यसपालि सूर्यकुमारले १४५.६७ को स्ट्राइक रेटमा रन बनाएका थिए ।
