काठमाडौं ।
न्यूजिल्याण्डका तीव्र गतिका बलर लकी फर्ग्युसनले इण्डियन प्रिमियर लिग (आईपीएल) सर्वाधिक तीव्र गतिमा बलिङ गरेका छन् । गुजरात टाइटन्सबाट लिग खेलिरहेका उनले आइतबार फाइनलमा राजस्थान रोयल्सविरुद्ध १५७.३ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेका हुन् ।
कीर्तिमानी गतिमा बलिङ गरेको बलमा फर्ग्युसनले जोस बटलरलाई रन दिएनन् । योसँगै उनले सनराइजर्स हैदराबादका युवा तीव्र गतिका बलर उमरान मलिकको रेकर्ड तोडेका छन् । उनले यही सिजनमा १५७ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेका थिए । अब मलिकको रेकर्ड फर्ग्युसनले तोडेका छन् ।
बटलरले हासिल गरे नयाँ उपलब्धि
राजस्थान रोयल्सका प्रारम्भिक ब्याटर जोस बटलरले नयाँ उपलब्धि हासिल गरेका छन् । उनले इण्डियन प्रिमियर लिग (आईपीएल) को एक सिजनमा सर्वाधिक रन बनाउने मामलामा नयाँ उपलब्धि हासिल गरेका हुन् ।
फाइनलमा गुजरात टाइटन्सविरुद्ध ३९ रन पूरा गरेसँगै बटलर आईपीएलको इतिहासमा एक सिजनमा सर्वाधिक रन बनाउने दोस्रो ब्याटर बने । उनले जारी सिजनमा फाइनलसहित १७ खेलमा चार अर्धशतक र चार शतकसहित ८६३ रन बनाएका छन् ।
योसँगै बटलरले डेविड वार्नरको कीर्तिमान तोडेका छन् । यसअघि आईपीएलको एक सिजनमा सर्वाधिक रन बनाउने दोस्रो ब्याटरको रेकर्ड वार्नरको नाममा थियो । उनले सन् २०१६ को सिजनमा ८४८ रन बनाएका थिए । सो सिजनमा वार्नरले नौ अर्धशतक बनाएका थिए ।
आईपीएल इतिहासमा एक संस्करणमा सर्वाधिक रन बनाउने कीर्तिमान भने विराट कोहलीको नाममा छ । उनले २०१६ मा चार शतक र सात अर्धशतकको सहयोगमा ९७३ रन बनाएका थिए । उक्त सिजनमा विराटको उच्च स्कोर ११३ रन थियो ।