Khabar Board
Flash logo up side
Nirbachan aayog

राष्ट्रिय टिममा स्थान बनाउन के गर्नुपर्छ? यस्तो भन्छन् कोच अल्मुताइरी

Nirbachan m

काठमाडौं ।

नेपाली फुटबल टोली अहिले कतारमा छ । एसिया कप छनोट तेस्रो चरणको अभ्यासका लागि नेपाली टोली कतारमा रहेको हो । त्यहाँ नेपालले मैत्रीपूर्ण म्याच खेलिरहेको छ । नेपालले मैत्रीपूर्णअन्तर्गत पहिलो टिमोर लिस्टेविरुद्ध खेलेको थियो । सो खेलमा टिमोरविरुद्ध नेपाल २–२ को बराबरीमा रोकिएको थियो ।

यसपालि एसिया कप छनोट खेल्ने नेपाली टिममा अनुभवी खेलाडीको कमी छ । प्रायः टिममा युवा खेलाडी छन् । सिनियर १० खेलाडीले क्याम्प छोडेपछि मुख्यप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी युवा खेलाडीका साथ कतार गएका थिए । साथै, उनले टिममा स्टार गोलरक्षक तथा कप्तान किरण चेम्जोङलाई पनि समावेश गरेनन् ।

अल्मुताइरीले एसिया कप छनोटका लागि नवयुग श्रेष्ठलाई कप्तान बनाएका छन् । धेरै समर्थकले सामाजिक सञ्जालमा नेपालको आगामी फुटबल भविष्य अन्योल रहेको टिप्पणी गरिरहेका छन् । तर, प्रशिक्षक अल्मुताइरी भने अहिलेको टिम नै नेपाली फुटबलको भविष्य सुन्दर बनाउने दाबी गर्छन् ।

उनी भन्छन्, ‘यो टिमले मज्जाले अबका ८–१० वर्ष खेल्न सक्छ । एसिया कप छनोटपछि हाम्रो ध्यान विश्वकप छनोटमा केन्द्रित हुनुपर्छ । अबको विश्वकप छनोट हामीजस्तो तल्लो वरीयताका टिमका लागि निकै फाइदाजनक छ, किनभने यस छनोटमा बढी खेल र अवसर हुनेछ । यो हाम्रा लागि राम्रो छ ।’ अल्मुताइरीले अहिले नेपालको मुख्य लक्ष्य समृद्ध राष्ट्रिय टिम बनाउनु रहेको पनि बताए ।

कस्तो खेलाडी टिममा पर्छन् भन्ने प्रश्नमा अल्मुताइरीले कान्तिपुर दैनिकसँग भनेका छन्, ‘म सबैको राम्रो होस् भन्ने चाहन्छु । सबै नेपाली खेलाडीको पनि । तर, जतिबेलासम्म म नेपाली टिमको प्रशिक्षक रहने छु, खेलाडी छनोट गर्ने काम मेरोमात्र हो । कोही कसैलाई नेपाली टिममा पर्नु छ भने एउटै काम मात्र गर्नुपर्छ, लिगमा राम्रो खेल्ने । जसले लिगमा राम्रो खेल्छन्, त्यही राष्ट्रिय टिममा पर्नेछ । जसले राम्रो खेल्दैनन्, उनीहरू राष्ट्रिय टिममा पर्ने छैनन्  । खेलाडीको नाम, उमेर, उनको क्लबबारे मलाई केही मतलब हुने छैन ।’

Panacea Education

अल्मुताइरीले एसियन कपका लागि गोलरक्षकमा दीप कार्की, विशाल सुनार, टिकेन्द्र सिंह थापालाई टिममा राखेका छन् । उनले डिफेन्डरमा विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याललाई टोलीमा स्थान दिए ।

त्यस्तै, अल्मुताइरीले मिडफिल्डरको रूपमा आकाश बुढा मगर, एरिक विष्ट, निरकुमार राई, पूजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुनिल बल र सुरज ज्यू ठकुरीलाई मौका दिएका छन् ।

फरवार्डको रूपमा नवयुग श्रेष्ठ, मनिष डाँगी, आयुष घलान, दर्शन गुरुङ र जर्ज प्रिन्स कार्कीले टिममा अवसर पाएका छन् । एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपालले यो समूहमा जोर्डन, कुवेत र इन्डोनेसियाविरुद्ध खेल्ने तालिका छ । प्रतियोगितामा नेपाल र जोर्डनले ८ जुनमा खेल्नेछन् । नेपालले दोस्रो खेलमा ११ जुनमा कुवेतविरुद्ध खेल्नेछ ।

तेस्रो खेलमा नेपालले १४ जुनमा इन्डोनेसियाको सामना गर्ने तालिका छ । एसियन कप छनोटअघि नेपालले कतारमा अफगानिस्तानसँग ११ र १५ जेठमा मैत्रीपूर्ण म्याच खेल्नेछ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.