काठमाडौं ।
नेपाली क्रिकेट टोली अहिले अमेरिकामा छ । त्यहाँ नेपालले केही दिनमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्दैछ । सिरिजअन्तर्गत नेपालले पहिलो खेल ९ जुनमा ओमानविरुद्ध खेल्नेछ । सिरिजअघि नेपालले बिहीबार र शनिबार गरी दुईवटा अभ्यास म्याच खेल्ने तालिका छ ।
अभ्यास खेलमा नेपालले नेपाली अल स्टार्स र ह्युस्टन हरिकेन्सको सामना गर्न लागेको हो । नेपाली अल स्टार्स टोलीमा नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका बसन्त रेग्मी र पृथु बाँस्कोटा पनि छन् । पृथु नेपाली अल स्टार्स टिमको कप्तानसमेत हुन् ।
यसैबीच, नेपालविरुद्ध खेल्नुपूर्व बसन्त र पृथुले प्रतिक्रिया दिएका छन् । उनीहरू दुवैले नेपालविरुद्ध नै खेलौंला भनेर कल्पनासमेत नगरेको प्रतिक्रिया दिएका हुन् । तर, आफूहरू नेपालविरुद्ध खेल्न त्यत्तिकै उत्सकु रहेको पनि बसन्त र पृथ्वीले बताए ।
‘नेपालविरुद्ध नै एकदिन खेल्नुपर्ला भनेर मैले सोचेको पनि थिइनँ, सायद यो समयको खेल रहेछ । तर, म जुन टोलीबाट खेल्छु, त्यो टोली नै पहिलो प्राथमिकता हो,’ बसन्तले भावुक हुँदै कान्तिपुर दैनिकसँग भनेका छन् । उनले सन् २०१९ मा पछिल्लो पटक नेपालबाट खेलेका थिए । बसन्त अमेरिकामा बस्न थालेको २ वर्षभन्दा बढी भइसकेको छ ।
पृथुले पनि ‘नेपालसँग खेलौंला भनेर सोच्दै नसोचे’को प्रतिक्रिया नै दिए । ‘नेपालविरुद्ध खेल्नुपर्छ भनेर सोचेको पनि थिइनँ, अर्को हिसाबमा हेर्ने हो भने यो अवसर पनि हो, जसमा मैले आफैं कप्तानी गरिरहेको छु । त्यसैले फरक खालको अनुभव भइरहेको छ,’ पृथुले भने, ‘नेपालविरुद्ध नै खेल्नुपरे पनि आफू क्लब टिमबाट खेलिरहेको छु भनेर सामान्य हिसाबमा चित्त बुझाउँदै बसेको छु । मैले सोच्दै नसोचेको विषयको सामना गरिरहेको छु ।’
पृथु र बसन्तसहित अल स्टार्स टोलीमा अर्का नेपाली खेलाडी कनिष्क चौगाईं, इण्डियन प्रिमियर लिग खेलिसकेका विपुल शर्मा र हरमित सिंह, न्यूजिल्याण्डका कोरी एन्डरसन, दक्षिण अफ्रिकाका एन्ड्रे गोएज र स्याड्ली भान स्यालकविक, क्यानडाका नितिश कुमार, पाकिस्तानका मोहम्मद इल्याज, अमेरिकाबाट खेलिसकेका आदिल भाटीलगायतका खेलाडी छन् ।
