काठमाडौं ।
एबी डिभिलियर्सको सम्झना दिलाउने ‘बेबी एबी’ अर्थात् डेवाल्ड ब्रेभिसका लागि गएकाे संस्करणको यू-१९ एकदिवसीय विश्वकप र आईपीएल २०२२ राम्रो रह्यो । विश्वकपमा उनले ६ खेलमा तीन अर्धशतक र दुई शतकीय मद्दतमा ५०६ रन बनाए । इतिहासकै सर्वाधिक रन बनाएका ब्रेभिसले विश्वकपकै गरेको प्रदर्शनको आधारमा आईपीएलमा पनि अवसर पाए ।
मुम्बई इण्डियन्सबाट आईपीएल खेलेका उनले ७ खेलमा १४२.४७ को स्ट्राइक रेटमा १६१ रन बनाए । ब्रेभिसले डेब्यू सिजनको आईपीएलमा धेरैको मन जिते । लगातारको उच्च प्रदर्शनले उनलाई छिट्टै अन्तर्राष्ट्रिय क्रिकेटमा देख्न पाउनेमा समर्थक आशावादी छन् । यसैबीच, ब्रेभिसले तत्काल टिममा मौका पाउने/नपाउनेबारे दक्षिण अफ्रिकी सीमित ओभर क्रिकेट टिमका कप्तान तेम्बा बावुमाले प्रतिक्रिया दिएका छन् ।
‘ब्रेभिस सम्भावना बोकेका खेलाडी हुन्, उनले आईपीएलमा राम्रो प्रदर्शन गरे । तर, तपाईंले यो बुझ्नुपर्छ कि उनले दक्षिण अफ्रिकामा कुनै चारदिवसीय खेल वा प्रथम श्रेणीको खेल खेलेका छैनन् । उनले केही प्रथम श्रेणी खेल खेल्नुपर्नेछ,’ कप्तान भावुमाले भनेका छन्, ‘प्रथम श्रेणीको अनुभव हासिल नगरेरै उनलाई अन्तर्राष्ट्रिय क्रिकेटमा ल्याउनु सार्थक नहोला । हामीले सावधानीपूर्वक हिँड्नुपर्छ । अनि उनलाई अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गराउनुपर्छ ।’

दक्षिण अफ्रिकाले केही दिनमा भारतविरुद्ध टी–२० श्रृंखला खेल्दैछ । बिहीबार दक्षिण अफ्रिकाको टोली भारत पुग्दैछ । भारत–दक्षिण अफ्रिकाबीचको पाँच खेलको श्रृंखला ९ जुनबाट सुरु हुनेछ । सिरिजको लागि दुवै देशले टिम घोषणा गरिसकेका छन् ।
भारत भ्रमणका लागि दक्षिण अफ्रिकाको टोली : टेम्बा बावुमा (कप्तान), क्विन्टन डी कक, रीजा हेन्ड्रिक्स, हेनरिक क्लासेन, केशव महाराज, एडेन मार्करम, डेविड मिलर, लुंगी एनगिडी, एनरिक नोर्टजे, वेन पार्नेल, ड्वेन प्रिटोरियस, कागिसो रबाडा, तरबिज शम्सी, ट्रिस्टन स्टब्स, रसीभान डर दुसेन र मार्को जेन्सेन ।
