काठमाडौं ।
नेपाली क्रिकेट टोली अहिले अमेरिका भ्रमणमा छ । त्यहाँ नेपालले केही दिनमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्ने तालिका छ । नेपालले ९ जुनमा ओमानविरुद्ध खेल्दै अमेरिका सिरिज सुरुवात गर्नेछ । सिरिजअघि नेपालले बिहीबार र शनिबार दुईवटा अभ्यास म्याच खेल्दैछ ।
अभ्यास खेलमा नेपालले नेपाली अल स्टार्स र ह्युस्टन हरिकेन्सको सामना गर्न लागेको हो । दुवै खेल राति ८ बजेपछि सुरु हुनेछन् । नेपाली अल स्टार्स टोलीमा नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका बसन्त रेग्मी र पृथु बाँस्कोटा पनि छन् । पृथु नेपाली अल स्टार्स टिमको कप्तानसमेत हुन् ।
यसैबीच, नेपालविरुद्ध खेल्नुपूर्व बसन्त र पृथुले प्रतिक्रिया दिएका छन् । उनीहरू दुवैले नेपालविरुद्ध नै खेलौंला भनेर कल्पनासमेत नगरेको प्रतिक्रिया दिएका हुन् । ‘नेपालविरुद्ध नै एकदिन खेल्नुपर्ला भनेर मैले सोचेको पनि थिइनँ, सायद यो समयको खेल रहेछ । तर, म जुन टोलीबाट खेल्छु, त्यो टोली नै पहिलो प्राथमिकता हो,’ बसन्तले भावुक हुँदै कान्तिपुर दैनिकसँग भनेका छन् । उनले सन् २०१९ मा पछिल्लो पटक नेपालबाट खेलेका थिए । बसन्त अमेरिकामा बस्न थालेको २ वर्षभन्दा बढी भइसकेको छ ।
पृथुले पनि ‘नेपालसँग खेलौंला भनेर सोच्दै नसोचे’को प्रतिक्रिया नै दिए । ‘नेपालविरुद्ध खेल्नुपर्छ भनेर सोचेको पनि थिइनँ, अर्को हिसाबमा हेर्ने हो भने यो अवसर पनि हो, जसमा मैले आफैं कप्तानी गरिरहेको छु । त्यसैले फरक खालको अनुभव भइरहेको छ,’ पृथुले भने, ‘नेपालविरुद्ध नै खेल्नुपरे पनि आफू क्लब टिमबाट खेलिरहेको छु भनेर सामान्य हिसाबमा चित्त बुझाउँदै बसेको छु । मैले सोच्दै नसोचेको विषयको सामना गरिरहेको छु ।’

पृथु र बसन्तसहित अल स्टार्स टोलीमा अर्का नेपाली खेलाडी कनिष्क चौगाईं, इण्डियन प्रिमियर लिग खेलिसकेका विपुल शर्मा, हरमित सिंह, समित पटेल, न्यूजिल्याण्डका कोरी एन्डरसन, दक्षिण अफ्रिकाका एन्ड्रे गोएज। क्यानडाका नितिश कुमार, पाकिस्तानका मोहम्मद इल्यास, अमेरिकाबाट खेलिसकेका आदिल भाटीलगायतका खेलाडी छन् ।
यसबीच, नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बसन्त र पृथु सम्मिलित नेपाली अल स्टार्सविरुद्ध खेल्नुअघि तयारीबारे प्रतिक्रिया दिएका छन् । ‘उहाँहरू दुवै अनुभवी खेलाडी हुनुहुन्छ, दुवैजनालाई सम्मान गर्छु । विपक्षी टोलीमा भएपछि हामीले हाम्रोतर्फ शतप्रतिशत दिनेछौं । सकेसम्म जित निकालेर अघि बढ्छौं’, सन्दीपले भने ।
अल स्टार्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी (विकेटकिपर), आदिल अन्सारी, करण केसी, सोमपाल कामी, किशोर महतो र सुशान भारी ।
