काठमाडौं ।
अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अभ्यास म्याच खेल्दैछ । नेपालले पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्सविरुद्ध खेल्न लागेको हो । यी दुई टोलीबीचको खेल राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।
नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजअघि अभ्यास म्याच खेल्न लागेको हो । नेपाली अल स्टार्स टोलीमा नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका बसन्त रेग्मी र पृथु बाँस्कोटा पनि छन् । पृथु टिमका कप्तानसमेत हुन् ।
पृथु र बसन्तसहित अल स्टार्स टोलीमा अर्का नेपाली खेलाडी कनिष्क चौगाईं, इण्डियन प्रिमियर लिग खेलिसकेका विपुल शर्मा, हरमित सिंह, समित पटेल, न्यूजिल्याण्डका कोरी एन्डरसन, दक्षिण अफ्रिकाका एन्ड्रे गोएज, क्यानडाका नितिश कुमार, पाकिस्तानका मोहम्मद इल्यास, अमेरिकाबाट खेलिसकेका आदिल भाटीलगायतका खेलाडी छन् ।
नेपालले दोस्रो अभ्यास खेलमा शनिबार ह्युस्टन हरिकेन्सको सामना गर्नेछ । अभ्यास खेलपछि नेपालले त्रिकोणात्मक सिरिज खेल्नेछ । सिरिजमा नेपालले अमेरिका र ओमानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपालले सिरिजको पहिलो खेल ९ जुनमा ओमानविरुद्ध खेल्ने तालिका छ । नेपाल र नेपाली अल स्टार्सबीचको खेल युट्युबमा एमसिएल नेटवर्क (MCL Network) मा हेर्न सकिनेछ ।
अल स्टार्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी (विकेटकिपर), आदिल अन्सारी, करण केसी, सोमपाल कामी, किशोर महतो र सुशान भारी ।