काठमाडौं ।
दक्षिण कोरियाविरुद्ध ब्राजिलले फराकिलो जित हात पारेको छ । मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले घरेलु टोली दक्षिण कोरियाविरुद्ध ५–१ गोल अन्तरको जित निकालेको हो । साउलको संगम वर्ल्ड स्टेडियममा भएको खेलमा ब्राजिलको जितमा नेयमारले दुई गोल गरे ।
उनले दुवै गोल पेनाल्टीमार्फत गरे । ब्राजिलले सातौं मिनेटमा रिचरलिसनको गोलमा अग्रता लिएको थियो । घरेलु टोलीले ३१ औं मिनेटमा बराबरी गोल फर्कायो । ह्वाङ हि चेनले दक्षिण कोरियाका लागि बराबरी गोल गरेका थिए । नेयमारले ४२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै ब्राजिललाई पहिलो हाफमा २–१ ले अघि बढाए ।

दोस्रो हाफको ५७ औं मिनेटमा नेयमारले पेनाल्टीमै गोल गर्दै ब्राजिललाई ३–१ ले अघि बढाए । फिलिप कौटिन्होले ८० औं मिनेटमा ब्राजिलका लागि चौथो गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा जिसस ग्याब्रियलले गोल गर्दै दक्षिण अमेरिकी देशलाई फराकिलो जित दिलाए ।
