काठमाडौं
अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्सविरुद्ध ४ विकेटले पराजित भएको छ । गएराति भएको खेलमा कप्तान सन्दीप लामिछाने र आरिफ शेखको उत्कृष्ट पदर्शनका बाबजुद नेपाल पराजित हुन पुगेको हो ।
नेपालले दिएको १ सय ९१ रनको विजयी लक्ष्य अल स्टार्सले ३३.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। उसका लागि इण्डियन प्रिमियर लिग (आइपिएल) खेलिसकेका भारतीय क्रिकेटर विपुल शर्माले ५१ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । त्यस्तै, गौरभ बजाजले ५८ बलमा २ चौकासहित अविजित ४० रनको योगदान दिए ।
कुनै बेला अल स्टार्स १९ ओभरमा ५ विकेट गुमाएर ९६ रनको स्थितिमा थियो । तर, छैटौं विकेटका लागि विपुल र गौरभले ८३ रनको उत्कृष्ट साझेदारी गरे । त्यस्तै, एन्ड्रिज गौसले ४५, मार्टिन कैनले १२, नितिश कुमारले ९ रन बनाए । कप्तान पृथु बाँस्कोटा भने शून्यमै आउट भए ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ४९ रन दिएर ५ विकेट लिए । त्यसअघि अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर ब्याटिङको मौका पाएको नेपाली टोली ४५.५ ओभरमा १ सय ९० रनमा अलआउट भयो नेपालका आरिफ शेखले ७४ बलमा ५ चौकासहित सर्वाधिक अविजित ६० रन बनाए ।
त्यस्तै, विनोद भण्डारीले २६, देव खनालले २०, रोहितकुमार पौडेल, आदिल अन्सारी १६/१६, करण केसीले २१, सोमपाल कामीले दुई र आसिफ शेख (रिटायर्ट हर्ट) ले एक रन बनाए । कुशल भुर्तेल शून्यमै आउट भए । बलिङमा नेपाली अल स्टार्सका मार्टिन कैनले तीन, मोहम्मद इलायस, आदिल भाटीले दुई/दुई, विपुल शर्मा र हरम्रित सिंहले एक/एक विकेट लिए । बसन्त रेग्मीले ५ ओभरमा १ मेडनसहित बिनाविकेट १७ रन खर्चिए ।
नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नुअघि अभ्यास म्याच खेलिरहेको हो । नेपालले दोस्रो अभ्यास खेल शनिबार ह्युस्टन हरिकेन्ससँग खेल्नेछ । त्यसपछि त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ९ जुनमा ओमानको सामना गर्दै नेपालले सरिजको सुरुवात गर्नेछ । खेल अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियमा हुनेछ ।