काठमाडौं ।
कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज तेस्रो मैत्रीपूर्ण म्याच खेल्दैछ । नेपालले तेस्रो खेलमा ओमानको सामना गर्न लागेको हो । नेपाल–ओमानबीचको खेल राति ९ः४५ देखि सुरु हुनेछ । पहिलो र दोस्रो खेलमा नेपालले बराबरी खेलको थियो ।
ओमानविरुद्ध नेपालको लक्ष्य सकेसम्म गोल नखाने रणनीति हुनेछ । तुलनात्मकरूपमा ओमान नेपालभन्दा बलियो टोली हो । हाल ऊ फिफा वरियताको ७५ औं स्थानमा छ । नेपाल भने वरियताको १६८ औं स्थानमा छ । आफूभन्दा निकै बलियो मानिएको ओमानविरुद्ध नेपालको युवा टोलीले रक्षात्मक खेल्ने सम्भावना बलियो छ ।
नेपालले जारी अभ्यास भ्रमणमा पहिलो खेलमा टिमोर लिस्टेविरुद्ध २–२ को बराबरी खेलेको थियो । सो खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा गरेको थियो । दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध १–१ को बराबरी खेल्यो । अग्रता जोगाउन नसक्दा दोस्रो खेलमा नेपाल बराबरीमै रोकिएको हो । सो खेलमा नेपालका लागि कप्तान नवयुग श्रेष्ठले गोल गरेका थिए ।
कस्तो छ दुवै टोलीबीचको विगत?
नेपालले अन्तर्राष्ट्रिय फुटबलमा ओमानलाई हालसम्म हराउन सकेको छैन । हालसम्म यी दुई टोलीबीच ५ पटक प्रतिस्पर्धा भएकामा सबै खेल ओमानले जितेको थियो । यी खेलमा नेपालले एक गोल पनि गर्न सकेको छैन । अन्तिमपटक नेपालले गत सेप्टेम्बरमा ओमानसँग प्रतिस्पर्धा गरेको थियो । मैत्रिपू्र्ण अन्तर्राष्ट्रिय त्यस खेलमा नेपाल ७–२ गोलले पराजित भएको थियो।
सन् १९९७ मा ओमानसँग पहिलोपटक खेलेको नेपाली टोली त्यतिबेला १–० गोलले पराजित भएको थियो । त्यसयता ओमानसँग खेलेका हरेक खेलमा नेपालले कम्तिमा दुई गोल ब्यहोरेको छ । नेपालले अन्तिमपटक गत मार्चमा सिनियर अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । थाइल्याण्डसँग भएको त्यस खेलमा नेपालि टोली २–० गोलले पराजित भएको थियो ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिममा अधिकांश युवा खेलाडीलाई मौका दिएका छन् । उनले क्याम्प छोड्ने र किरण चेम्जोङलाई टिममा राखेका छैनन् । अल्मुताइरीले एसियन कपका लागि गोलरक्षकमा दीप कार्की, विशाल सुनार, टिकेन्द्र सिंह थापालाई टिममा राखेका छन् ।
उनले डिफेन्डरमा विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याललाई टोलीमा स्थान दिएका छन्। त्यस्तै, अल्मुताइरीले मिडफिल्डरको रूपमा आकाश बुढा मगर, एरिक विष्ट, निरकुमार राई, पूजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुनिल बल र सुरज ज्यू ठकुरीलाई मौका दिएका छन् ।
फरवार्डको रूपमा नवयुग श्रेष्ठ, मनिष डाँगी, आयुष घलान, दर्शन गुरुङ र जर्ज प्रिन्स कार्कीले टिममा अवसर पाएका छन् । एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपालले यो समूहमा जोर्डन, कुवेत र इन्डोनेसियाविरुद्ध खेल्ने तालिका छ । प्रतियोगितामा नेपाल र जोर्डनले ८ जुनमा खेल्नेछन् ।
नेपालले दोस्रो खेलमा ११ जुनमा कुवेतविरुद्ध खेल्नेछ । तेस्रो खेलमा नेपालले १४ जुनमा इन्डोनेसियाको सामना गर्ने तालिका छ । एसियन कप छनोटअघि नेपालले कतारमा अफगानिस्तानसँग ११ र १५ जेठमा मैत्रीपूर्ण म्याच खेल्नेछ ।
