काठमाडौं ।
भेट्रान स्पिनर बसन्त रेग्मी कुनै बेला नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य थिए । उनीबिना टिमको प्रदर्शन कमजोर हुन्थ्यो । बसन्तले धेरैपटक एक्लैले पनि खेल जिताएका छन् । ‘संकट मोचक’ को उपमा पाएका उनी हाल भने अमेरिकामा छन् ।
लामो समय राष्ट्रिय टिम बाहिर रहे पनि बसन्त अमेरिकामा विभिन्न क्लबबाट भने क्रिकेटमा सक्रिय नै छन् । यसैबीच, उनले बिहीबार राति नेपाली अल स्टार्सको प्रतिनिधित्व गर्दै नेपालविरुद्ध क्रिकेट खेल्ने मौका पाए ।बसन्तले नेपालविरुद्ध नै क्रिकेट खेलौंला भनेर कल्पनासमेत गरेका थिएनन् । तर, उनले कल्पना नै नगरेको क्षणको अनुभूति गरे ।
बसन्तले नेपालविरुद्धको खेलमा ५ ओभरमा एक मेडनसहित १७ रन खर्चिएका थिए । धेरै समर्थकले अहिले पनि उनलाई राष्ट्रिय टिममा देख्न चाहेका छन् । यो विषयमा बसन्तले अमेरिकामा रहेका पत्रकारसँग कुराकानी पनि गरेका छन् । र, उनले तत्काल नेपाल फर्कने/नफर्कने सम्भावनाबारे पनि खुलासा गरेका छन् ।
‘तुरुन्तै नेपाल फर्कने प्लान चाहिँ छैन । नेपालमा गेम हुन लागेको रैछ– नेपाल प्रिमियर लिग । अवश्य पनि त्यो खेल्न आउने सोच छ । प्लस राम्रो गर्दै गए भने टिमले राम्रो देख्नुभयो भने अवश्य पनि नेपालका लागि खेल्ने सम्भावना बोकेर हिँडेको छु,’ बसन्तले भने ।
उनले नेपाली टिमलाई आगामी खेलको शुभकामना पनि दिए । बसन्तले टिममा रहेका नयाँ खेलाडी पनि प्रतिभावान रहेकाले उनीहरूलाई प्रशस्त अवसर र साथ दिनुपर्ने बताए । साथै, उनले आफू राष्ट्रिय टिमलाई योगदान दिन सधैं तयार रहेको पनि बताए ।
‘म कहिले पनि नेपाली टिमबाट बाहिर भएको महसुस गरेको छैन । टिमलाई जहिलो पनि मेरो शुभकामना र सुभेच्छा रहन्छ । मेरो तर्फबाट हुनसक्ने योगदान दिनका लागि म सधैं तयार छु,’ बसन्तले भने, ‘टिमबाटै खेलेर पनि सबै कुरा हुँदैन । टिमले सुझावसल्लाह लिन चाहे भने म तयार छु । म कमब्याक भनेर सोच्दिन । खेल्दै र राम्रो गर्दैजान्छु भने अवश्य पनि ठाउँ बन्छ । खेलमा उमेरको कुरा आउँछ । तपाई फिट र खेल्न सक्नुहुन्छ उमेरले केही अर्थ राख्दैन ।’