काठमाडौं ।
एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा पाहुुना टोली वेष्ट इण्डिजले नेदरल्याण्ड्सलाई ३०९ रनको लक्ष्य दिएको छ । एम्स्टेलविनस्थित विराए ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले ५० ओभरमा ५ विकेट गुमाएर ३०८ रन बनायो ।
उसका लागि कायल मेयर्स र शामरह ब्रुक्सले शतकीय पारी खेले । १०६ बलमा सात छक्का र आठ चौकासहित मेयर्सले १२० रन बनाए । एकदिवसीयमा उनको यो पहिलो शतकीय पारी हो । त्यस्तै, ब्रुक्सले ११५ बलमा तीन चौका र चार छक्काको सहयोगमा अविजित १०१ रन बनाए ।

एकदिवसीयमा उनको पनि यो पहिलो शतक हो । त्यस्तै, शाई होपले २४, नक्रमाह बोन्नरले अविजित १९, ब्रेण्डन किंगले १०, निकोलस पूरनले सात र अकिल हुसेनले तीन रनको योगदान दिए । नेदरल्याण्ड्सका लागि लोगानभान बीक, आर्यन दत्त, बासिडी लिडे, रयान क्लेन र विभिन किंग्माले एक/एक विकेट लिए ।
तीन खेलको सिरिज वेष्ट इण्डिजले २–० ले जितिसकेको छ । यदि आज विजयी भए उनले सिरिज ३–० ले क्लिन स्विप गर्नेछ । वेष्ट इण्डिज पहिलो खेलमा सातमा र दोस्रो खेलमा पाँच विकेटले विजयी भएको थियो । दुवै खेलमा उसले लक्ष्य पछ्याएर जित निकालेको थियो ।
