काठमाडौं ।
जिम्बाब्वेविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा पाहुना टोली अफगानिस्तान ६० रनले विजयी भएको छ । यो जितसँगै तीन खेलको सिरिजमा अफगानिस्तानले १–० को अग्रता बनाएको छ । घरेलु टोली जिम्बाब्वेले भने सिरिजमा हारबाट सुरुवात गर्यो ।
शनिबार भएको पहिलो खेलमा अफगानिस्तानले दिएको २७७ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले ५० ओभरमा सबै विकेट गुमाएर २१६ रन मात्र बनाउन सक्यो । उसका लागि सिकन्दर राजाले ७८ बलमा ६ चौका र एक छक्कासहित सर्वाधिक ६७ रन बनाए ।
त्यस्तै, इनोसेन्ट किया ३९, क्रेग एर्विन ३०, डोनाल्डो ट्रिपानो १५, रायन बर्ल १३, वेस्ली मधेभरे ११ र ब्लेसिङ मुजारबानी १० रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । अफगानिस्तानका लागि मोहम्मद नाबीले १० ओभरमा ३४ रन दिएर ४ विकेट लिए ।

त्यस्तै, राशिद खान, फजलहक फारुकीले दुई/दुई, अजमातुल्लाह उमरजाई र फरिद अहमदले एक/एक विकेट लिए । त्यसअघि स्पोर्ट्स क्लबको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २७६ रन बनायो । उसका लागि रहमत साह, हसमतुल्लाह शाहिदी र राशिद खानले उत्कृष्ट पारी खेले । साहले १२० बलमा सात चौका र दुई चौकासहित ९४ रन बनाए ।
त्यस्तै, १०४ बलको सामना गरेका शाहिदीले १३ चौकाको मद्दतमा ८८ रनको योगदान दिए । राशिद खानले १७ बलमा चार चौका र दुई छक्काको सहयोगमा अविजित ३९ रनको आक्रामक पारी खेले । रहमानुल्लाह गुर्बाज १७, मोहम्मद नाबी १० इब्राहिन जद्रान पाँच रनमा आउट भए । जिम्बाब्वेका लागि ब्लेसिङ मुजरबानीले चार र तान्का चिनभान्गाले एक विकेट लिए । जिम्बाब्वे र अफगानिस्तानबीचको दोस्रो एकदिवसीय सोमबार हुनेछ ।
