काठमाडौं ।
यूईएफए नेसन्स लिग फुटबलको पहिलो खेलमा हंगेरीविरुद्ध इंग्ल्याण्ड १–० गोल अन्तरले पराजित भएको छ । गएराति हंगेरीको राजधानी बुडापेष्टमा भएको समूह ‘ए’ को खेलमा घरेलु टोलीसँग इंग्ल्याण्ड स्तब्ध भएको हो ।
हंगेरीको जितमा ६६औं मिनेटमा डोमिनिक सोबोस्लियाले पेनाल्टीमा निर्णायक गोल गरे । जितसँगै घरेलु टोलीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ । वर्तमान फिफा वरियतामा इंग्ल्याण्ड पाँचौं र हंगेरी ४० औं सथनमा छन् ।
बराबरीमा रोकिए इटाली र जर्मनी
यूइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा इटाली र जर्मनीले बराबरीमा रोकिएका छन् । लिग ‘ए’ समूह तीनअन्तर्गतको खेलमा दुवै टोली एक/एकको बराबरीमा रोकिएका हुन् । घरेलु मैदान रेनाटो डल’आरा स्टेडियमा खेलको ७० औं मिनेटमा लोरेन्जो पेलिग्रीनीले इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा जोसुवा किमिचले जर्मनीलाई एक/एकको बराबरीमा ल्याए ।
त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकिएको हो । यो नतिजासँगै दुवै टोलीले समान एक अंक जोडेका छन् । लिगअन्तर्गतकै अन्य खेलमा अर्मेनिया, लक्जेम्बर्ग, मोन्टेनेग्रो र टर्कीले जित हात पार्दा फिनल्याण्ड र बोस्नियना एण्ड हर्जगोभिनाले बराबरीमा रोकिएका छन् ।
