काठमाडौं ।
एकदिवसीय सिरिजको तेस्रो खेलमा घरेलु टोली नेदरल्याण्ड्सले वेष्ट इण्डिजलाई कडा टक्कर दिएको छ । गएराति सम्पन्न भएको खेलमा २० रनले पराजित भएपनि नेदरल्याण्ड्सले टेस्ट नेशन वेष्ट इण्डिजलाई कडा टक्कर दिएको हो ।
वेष्ट इण्डिजले दिएको ३०९ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २८८ रन बनाउन सफल भयो । एकदिवसीयमा वेष्ट इण्डिजविरुद्ध नेदरल्याण्ड्सले बनाएको यो हालसम्मकै बढी रन हो । उसका लागि म्याक्स ओदाउदले उत्कृष्ट पारी खेले ।
१२१ बलको सामना गरेका उनले आठ चौकाको मद्दतमा ८९ रन बनाए । अघिल्लो खेलमा पनि म्याक्सले अर्धशतकीय पारी खेलेका थिए । यो सिरिजमा नेदरल्याण्ड्सले ब्याटिङमा शानदार सुरुवात गर्यो । पहिलो खेलमा म्याक्स र विक्रमजित सिंहले पहिलो विकेटका लागि ६३, दोस्रो खेलमा १०१ र तेस्रो म्याचमा ९८ रनको साझेदारी गरे ।
मध्यक्रम र फिनिसिङ कमजोर हुँदा नेदरल्याण्ड्सले सिरिजमा खेल जित्न सकेन । तेस्रो म्याचमा विक्रमजित सिंह ५४, मुसा अहमद ४२, बासडी लीडे २५, स्कट इड्रवास १८, कप्तान पीटर सिलार १६ र लोगानभान बीक १५ रनको योगदान दिए । वेष्ट इण्डिजका लागि शेर्मोन लुईसले तीन, अकिल हुसेन, हेडनवाल्स जूनियरले दुई/दुई, कायल मेयर्स र जेडन सिल्सले एक/एक विकेट लिए ।
त्यसअघि एम्स्टेलविनस्थित विराए ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले ५० ओभरमा ५ विकेट गुमाएर ३०८ रन बनायो । उसका लागि कायल मेयर्स र शामरह ब्रुक्सले शतकीय पारी खेले । १०६ बलमा सात छक्का र आठ चौकासहित मेयर्सले १२० रन बनाए ।
एकदिवसीयमा उनको यो पहिलो शतकीय पारी हो । त्यस्तै, ब्रुक्सले ११५ बलमा तीन चौका र चार छक्काको सहयोगमा अविजित १०१ रन बनाए । एकदिवसीयमा उनको पनि यो पहिलो शतक हो । त्यस्तै, शाई होपले २४, नक्रमाह बोन्नरले अविजित १९, ब्रेण्डन किंगले १०, निकोलस पूरनले सात र अकिल हुसेनले तीन रनको योगदान दिए ।
नेदरल्याण्ड्सका लागि लोगानभान बीक, आर्यन दत्त, बासिडी लिडे, रयान क्लेन र विभिन किंग्माले एक/एक विकेट लिए । यो जितसँगै तीन खेलको सिरिज वेष्ट इण्डिजले ३–० ले क्लिनस्विप गरेको छ । वेष्ट इण्डिज पहिलो खेलमा सात र दोस्रो खेलमा पाँच विकेटले विजयी भएको थियो । दुवै खेलमा उसले लक्ष्य पछ्याएर जित निकालेको थियो ।