काठमाडौं ।
न्यूजिल्याण्डसँगको टेष्ट सिरिजको पहिलो खेलमा घरेलु टोली इंग्ल्याण्ड ५ विकेटले विजयी भएको छ । न्यूजिल्याण्डले दिएको २ सय ७७ रनको लक्ष्य इंग्ल्याण्डले पाँचौं दिनको केही ओभर खेल्दै पूरा गर्यो । इंग्ल्याण्डको जितमा पूर्वकप्तान जो रूटले शतकीय पारी खेले । उनले १७० बलमा १२ चौकाको मद्दतमा अविजित ११५ रन बनाए ।
त्यस्तै, कप्तान बेन स्टोक्सले ५४, बेन फोक्सले अविजित ३२, एलेक्स लीसले २०, जोनि बेयरिस्टोले १६, ओली पोपले १० र ज्याक क्रलीले ९ रनको योगदान दिए । न्यूजिल्याण्डका लागि कायल जेमिसनले चार र ट्रेन्ट बोल्टले एक विकेट लिए ।
त्यसअघि ऐतिहासिक लर्ड्सको मैदानमा टस जितेर पहिला ब्याटिङ राजेको न्यूजिल्याण्डले ४० ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनायो । उसका लागि कोलिन डिग्रेण्डहोमले सर्वाधिक अविजित ४२ रन बनाए । त्यस्तै, टिम साउथीले १४, ट्रेन बोल्ट, टम बुन्डेलले १४/१४ र डारेन मिचेलले १३ रनको योगदान दिए ।
इंग्ल्याण्डका लागि जेम्स एन्डरसन, म्याथ्यू पोट्सले समान चार, स्टुअर्ड बोर्ड र कप्तान बेन स्टोक्सले एक/एक विकेट लिए। इंग्ल्याण्डले पहिलो पारीमा १ सय ४१ रन मात्र बनाउन सक्यो। उसका लागि ओपनिङ ब्याटर ज्याक कर्लीले सर्वाधिक ४१, अर्का ओपनर एलेक्स लेसले २५ र जो रूटले ११ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
न्यूजिल्याण्डले दोस्रो पारीमा ९१.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८५ रन बनायो । उसका लागि डारेन मिचेलले शतकीय पारी खेले । उनले २ सय ३ बलमा १२ चौकाको मद्दतमा १ सय ८ रन बनाए । त्यस्तै, न्यूजिल्याण्डका विकेटसकपर टम बुन्डेलले ९६, टिम साउथीले २१, कप्तान केन विलियसनले १५, टम लेथमले १४ र डेवन कन्वेले १३ रन बनाए।
इंग्ल्याण्डका लागि स्टुअर्ड बोर्ड, म्याथ्यू पोट्सले तीन/तीन, जेम्स एन्डरसनले दुई र म्याट पार्किन्सनले एक विकेट हात पारे । यो जितसँगै दुई खेलको सिरिजमा घरेलु टोली इंग्ल्याण्डले १–० को अग्रता बनाएको छ । इंग्ल्याण्ड र न्यूजिल्याण्डबीचको दोस्रो टेष्ट १० जुनमा हुनेछ ।