काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटरद्वय आसिफ शेख र कुशल भुर्तेल घाइते भएका छन् । उनीहरू बिहीबार र शनिबार भएको अभ्यास खेलका क्रममा घाइते भएका हुन् । नेपाल क्रिकेट संघ (क्यान) अनुसार कुशल र आसिफको खुट्टामा चोट लागेको छ ।
उनीहरू दुवैले ९ जुनदेखि अमेरिकामा सुरु हुन लागेको आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेल गुमाउने सम्भावना बढेको छ । टिमका महत्वपूर्ण २ खेलाडी चोटग्रस्त भएपछि टिम अप्ठेरोमा परेको छ । कुशल र आसिफ घाइते भएपछि क्यानले विकेटकिपर/ब्याट्सम्यान सुवास खकुरेललाई टोलीमा बोलाएको छ । उनले लामो समयपछि टिममा मौका पाएका हुन् ।
सुवासले अन्तिमपटक १२ फेब्रुअरी २०२० मा एकदिवसीय म्याच खेलेका थिए । त्यसयता उनी टोली बाहिर थिए । २ वर्षपछि फेरि सुवासले राष्ट्रिय टिममा अवसर पाए । उनले हालसम्म पाँच वानडे र आठ टी–२० म्याच खेलेका छन् । सुवासले एकदिवसीयमा एक अर्धशतकको मद्दतमा ५०.५३ को स्ट्राइकरेटमा ९४ रन बनाएका छन् ।
त्यस्तै, उनले लिस्ट ‘ए’ तर्फ १३ खेलमा दुई अर्धशतकसहित २२० रन बनाएका छन् । सुवासले आठ टी–२० अन्तर्राष्ट्रियमा एक अर्धशतकको सहयोगमा ११२ रन बनाएका छन् । उनी टिममा समावेश भएपछि सिरिजको पहिलो खेलमा ओपनिङ ब्याटरको विकल्पमा सुवाससहित सुनिल धमला र देव खनाल हुनेछन् ।
नेपालले सिरिजको पहिलो म्याच २६ जेठमा ओमानविरुद्ध, दोस्रो खेल २८ जेठमा अमेरिका, ३१ जेठमा ओमान र १ असारमा अमेरिकाविरुद्ध खेल्ने तालिका छ । हालसम्म विश्वकप लिग–२ मा नेपालले १२ वटा म्याच मात्र खेलेको छ । जसमा टिमले ६ मा जित र ६ खेलमा हार बेहोरेको छ । अहिले नेपाल १२ अंकसहित तालिकाको छैटौं स्थानमा छ ।
त्रिकोणात्मक सिरिजका लागि नेपाल टिमको टाेली : सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल (उपकप्तान), सुवास खकुरेल, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, आरिफ शेख, विनोद भण्डारी, सुनील धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, सागर ढकाल र किशोर महतो ।