काठमाडौं ।
पोर्चुगलले युईएफए नेसन्स लिगमा सानदार जित निकालेको छ । आइतबार राति लिस्बोनस्थित घरेलु मैदानमा समूह ‘ए’ २ को खेलमा पोर्चुगलले स्विटजरल्यान्डमाथि ४–० को सहज जित निकालेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई, विलियम कार्भाल्हो र जोआओ कन्सेलोले थप एक–एक गोल गरे ।
खेलको १५ औं मिनेटमा कार्भाल्होले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए । ३५ औं मिनेटमा जोटाको पासमा रोनाल्डोले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । त्यसको चार मिनेटपछि गोल गर्दै रोनाल्डोले पहिलो हाफमा ३-० को अग्रता दिलाए ।
खेलको ६८ औं मिनेटमा कन्सेलोले गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाए । यो जितसँगै समूहमा पोर्चुगल दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा स्पेनसँग अंक बाँडेको पोर्चुगलले स्विटजरल्याण्डलाई पन्छाएको हो । समान चार अंक भए पनि चेक रिपब्लिक दोस्रोमा छ । यता स्पेन समान खेलबाट दुई अंकसहित तेस्रो तथा स्विटजरल्याण्ड बिना अंक पुछारमा छ।

एस्टोनियाविरुद्ध अर्जेन्टिनाको फराकिलो जित, मेस्सीले गरे गोलको वर्षा
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एस्टोनियाविरुद्ध अर्जेन्टिना ५–० ले विजयी भएको छ । गएराति सम्पन्न खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेस्सी एक्लै पाँच गोल गरे ।
पहिलो हाफमा दुई गोल गरेका उनले दोस्रो हाफमा तीन गोल थपे । आठौं मिनेटमा पेनाल्टीबाट खाता खोलेका मेसीले खेलको ४५, ४७, ७१ र ७६ मिनेटमा गोल गरेका हुन् ।
