काठमाडौं ।
आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत भुटानविरुद्ध नेपाल ४ विकेटले विजयी भएको छ । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले कतारलाई हराएको थियो । दोस्रो खेलमा भने नेपाल यूएईसँग १० विकेटले पराजित हुन पुगेको थियो ।
आफ्नो तेस्रो खेलमा भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका लागि सानु राजवंशीले अविजित ३० र सना प्रवीणले १२ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
भुटानका लागि सांगे ए वाङ्मोले सर्वाधिक तीन विकेट लिइन् । त्यसअघि टस जितेर ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनायो । उसका लागि नाङ्वाङ छोडेन र सांगे ए वाङ्मोले सर्वाधिक ११/११ रन बनाए ।
नेपालका लागि कृतिका मरासनी, मनिषाकुमारी उपाध्याय, अनु कडायतले दुई/दुई र स्नेहा महराले एक विकेट लिए । बलिङबाट मनिषा उपाध्ययले महत्वपूर्ण योगदान दिइन् । ४ ओभरमा दुई मेडनसहित ३ रन मात्र खर्चिएकी उनले भुटानका दुवै अोपनरलाई आउट गरिन् ।
दोस्रो खेलमा नेपाली दर्शकलाई प्रवेश दिइने, यस्तो छ अभ्यास सुरु हुने समय
एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली टिमको अभ्यास सत्रमा कुवेतमा रहेका नेपाली दर्शकलाई प्रवेश दिइने भएको छ । नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अहमादीस्थित अल शवाव स्टेडियममा हुने अभ्यासमा नेपाली दर्शकलाई आफ्नो देशको अभ्यास सत्र हेर्न दिने बताएका हुन् ।
‘कुवेतमा रहेका नेपाली दर्शकलाई अभ्यासमा प्रवेश दिनेछौं । नेपाली दर्शकको उपस्थितिले खेलाडीमा हौसला वृद्धि हुनेछ,’ अब्दुल्लाहले भनेका छन् । नेपाली टिमले आज साँझ ७ बजे अहमादीमै अभ्यास गर्नेछ ।
कतारको दोहामा केहि दिनको अभ्यास र मैत्रीपूर्ण खेलपछि नेपाली टिम शनिबार कुवेत राजधानी कुवेत सिटीमा आइपुगेको छ । हाल टोलीमा २३ खेलाडी छन् । नेपालले कुवेतमा २५ जेठमा जोर्डन, २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।