काठमाडौं ।
आईपीएल २०२२ को फाइनल खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै इतिहास रच्यो । आफ्नो डेब्यू आईपीएल वर्षमा गुजरातले राजस्थानलाई सजिलै पराजित गर्दै आईपीएलको उपाधि जितेको हो । २६ मार्चदेखि २९ मेसम्म खेलिएको आईपीएलको यो १५औँ सिजन थियो, यस सिजनमा १० टोलीबीच प्रतिस्पर्धा भयो ।
दश टोलीबीच जम्मा ७४ खेल खेलिएको थियो । यस पटक आईपीएलका सबै लिग चरणका खेलहरू महाराष्ट्रका चार क्रिकेट स्टेडियममा खेलाइयो। जबकि प्लेअफका खेलहरू कोलकाता र अहमदाबादमा भए। आईपीएल २०२२ सुरु हुनुअघि फेब्रुअरीमा मेगा लिलामी भएको थियो। जसमा फ्रेन्चाइजले बोलपत्रमार्फत २०४ खेलाडी किनेका थिए ।
यी खेलाडीलाई लिलामीका क्रममा मोटो रकम तिरेर अनुबन्ध गरिएको थियो । तर, केही खेलाडी महँगो सिजनअवधिभर बेन्चमै सीमित भए । यसैबीच, आज तीन क्रिकेटरको चर्चा गर्दैछौं, जसले आईपीएल २०२२ मा एक म्याच पनि नखेलेरै एक करोड कमाए :
३. राजवर्धन हंगरेगकर (१ करोड ५० लाख) : यस पटक भारतीय टोलीले यू–१९ विश्वकप (२०२२) जितेको थियो । राजवर्धन हांगरेगकर पनि विजेता टोलीका सदस्य थिए । आईपीएल २०२२ मा भएको मेगा लिलामीमा यी तीव्र गतिका बलरको आधार मूल्य ३० लाख रुपैयाँ थियो । यी १९ वर्षीय दाहिने हात बलरलाई किन्न लखनउ, चेन्नई र मुम्बईबीच खेल भएको थियो ।

अन्त्यमा हांगरेगकरलाई १ करोड ५० लाख भारुमा चेन्नईले अनुबन्ध गर्न सफल भयो । तर, १४० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्ने बलरले प्रतियोगितामा एक खेल खेल्ने मौका पाएनन् । बलिङको साथसाथै हंगरेगकर एक राम्रो हिटर ब्याटर पनि हुन्, जसले अन्तिम ओभरहरूमा ठूला शटहरू खेल्न माहिर छन्। तर, चेन्नईका कप्तान एमएस धोनीका अनुसार हंगरेगकरले आईपीएल डेब्यू गर्नुअघि आफ्ना केही कमजोरीहरूमा काम गर्नुपर्छ।
२. डोमिनिक ड्रेक्स– १.१० करोड (गुजरात टाइटन्स) : आईपीएल खेल्ने हरेक खेलाडीले आफ्नो टोलीका लागि एक दिन ट्रफी जित्ने सपना देख्छन्। वेस्ट इन्डिजका तीव्र बलर डोमिनिक ड्रेक्सले आईपीएलमा एक खेल नखेलेर दुईपटक यो उपलब्धि हासिल गरेका छन् । आईपीएल २०२१ मा ड्रेक्सलाई चेन्नईले साम करनको प्रतिस्थापनको रूपमा टोलीको एक हिस्सा बनाएको थियो। तर, १४ औं सिजनमा यी बायाँ हाते तीव्र गतिका बलरले चेन्नईबाट एक खेल खेल्न पाएनन् । आईपीएल २०२२ मा गुजरातले ड्रेक्सलाई १ करोड १० लाख भारुमा अनुबन्ध गरेको थियो ।
१. जयन्त यादव– १.७ करोड (गुजरात टाइटन्स) : भारतीय अफ स्पिनर जयन्त यादवले सन् २०१५ मा सनराइजर्स हैदराबादविरुद्ध आईपीएल डेब्यू गरेका थिए। उनले आफ्नो आईपीएल करियरमा हालसम्म १९ खेल खेलेका छन् । जसमा जयन्तले ५२.३८ को औसतमा आठ विकेट लिएका छन्। आईपीएलको १५ औँ संस्करणमा यी ३२ वर्षीय खेलाडीको आधार मूल्य १ करोड भारु राखिएको थियो ।
लिलामीका क्रममा उनलाई लखनउ र गुजरातबीच प्रतिस्पर्धा भएको थियो । अन्त्यमा गुजरातले जयन्तलाई १.७ करोडमा किन्यो । प्रतियोगिताको सुरुमा उनले राशिद खानसँग बलिङ गर्ने मौका पाउने अनुमान गरिएको थियो । तर, त्यसो भएन । गुजरात टिम व्यवस्थापनले आरसाई किशोरलाई मौका दिनु उपयुक्त ठान्यो । जसकारण जयन्तले एक म्याच नखेलेर १ करोड ७० लाख भारु कमाए ।
