काठमाडौं ।
नेपालले आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा दोस्रो पराजय बेहोरेको छ । ऊ मंगलबार थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो । यो पराजयसँगै विश्वकपमा छनोट हुने नेपालको सम्भावना सकिएको छ । ९० रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ४० रन मात्र बनाउ सक्यो । उसका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि सृष्टि जैसीले अविजित सात, साना प्रविनले ६, अनु कडायतले पाँच, अञ्जली विश्वकर्मा, मनिषाकुमारी उपाध्यय र कप्तान कृतिका मरासनीले तीन/तीन तथा रञ्जु श्रेष्ठ र स्नेहा महराले एक/एक रनको योगदान दिए । थाइल्याण्डका लागि नान्थिता बुन्सुखमले तीन तथा पोर्नापा सेहोइ र थान्यालक चुम्नानले एक/एक विकेट लिए ।

यसअघि मलेसियाको युकेएम ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८९ रन बनाएको थियो । थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले २०, बान्थिदा लेप्हाथानाले १९, सुवान्न खिओतोले १६ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि कप्तान कृतिका मरासनी र मनिषा कुमारी उपाध्यायले दुई/दुई तथा स्नेहा महराले एक विकेट लिए । यो पराजयसँगै नेपालको चार खेलमा चार अंक रहँदा लगातार चौथो जित निकालेको थाइल्याण्डले आठ अंक जोडेको छ । यसअघि कतारलाई ७९ रनले हराएको नेपालले युएईसँग १० विकेटको फराकिलो पराजय बेहोर्दा भुटानमाथि चार विकेटको जित निकालेको थियो । अब नेपालले आफ्नो अन्तिम खेलमा बिहिबार मलेसियाको सामना गर्नेछ ।
