काठमाडौं ।
स्थानीय तह शहीद स्मारक मकवानपुर गोल्डकपमा विभागीय टोली नेपाल पुलिसविरुद्ध मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ । मंगलबार हेटौंडाको पिप्ले रंगशालामा भएको खेलमा पुलिसविरुद्ध मनाङ १–० गोल अन्तरले हराएको हो । यो हारसँगै मनाङलाई धक्का लागेको छ ।
पुलिस भने जितसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । उसको जितमा भरत शाहले निर्णायक गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलमा ३५ औं मिनेटमा भरतले बक्स बाहिरबाट उत्कृष्ट भली गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । गोलकिपर विशाल श्रेष्ठको क्लियरन्सलाई भरतले सिधै रोकेर विशालको गोलको माथिल्लो दायाँ कुनामा भली प्रहार गरे ।
खेलमा मनाङले पेनाल्टी पाएको थियो । तर, अञ्जन विष्ट त्यसमा सफल हुन सकेनन् । उनको प्रहार पुलिसका गोलकिपर शत्रुधन चौधरीले बचाए । आजको खेलमा मनाङले विशाल श्रेष्ठ, विशाल राई, सुजल श्रेष्ठ र विमल घर्तीमगरलाई समेत मैदान उतारेको थियो । तर, ऊ सफल भने हुन सकेन ।
प्रतियोगिताको विजेताले उपाधिसँगै १५ लाख रुपैयाँ नगद र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, व्यक्तिगत विधामा उत्कृष्ट हुनेलाई पनि २५ हजार नगद र ट्रफी प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको मोटरसाइकल प्राप्त गर्नेछन् । प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ ।