काठमाडौं ।
श्रीलंकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा पाहुना टोली अष्ट्रेलिया १० विकेटले विजयी भएको छ । गएराति भएको खेलमा श्रीलंकाले दिएको १२९ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले १४ ओभरमा बिनाविकेटको क्षतिमा पूरा गर्यो ।
उसका लागि दुवै ओपनिङ ब्याटर डेविड वार्नर र आरोन फिन्चले अर्धशतकीय पारी खेले । वार्नरले ४४ बलमा ९ चौकाको मद्दतमा अविजित ७० रन जोडे । कप्तान फिन्चले ४० बलमा चार छक्का र चार चौकाको सहयोगमा नटआउट ६१ रनको पारी खेले ।
त्यसअघि कोलम्बोस्थित आर प्रेमदास स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले १९.३ ओभरमा सबै विकेट गुमाएर १२८ रन बनायो । उसका लागि चरिथा अशलंकाले ३८, पथुम निशंकाले ३६, धनुष्का गुणतिलकाले २६ र वानिन्दु हसरंगाले १७ रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । श्रीलंकालाई कम स्कोरमै रोक्न जोस हेजलउडले शानदार बलिङ गरे । चार ओभरमा १६ रन दिएका उनले महत्वपूर्ण ४ विकेट लिए । त्यस्तै, मिचेल स्टार्कले ४ ओभरमा २६ रन दिएर तीन विकेट हात पारे ।
केन रिचडर्सनले ३.३ ओभरमा २२ रन दिएर एक विकेट लिए । यो जितसँगै तीन खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ । श्रीलंका–अष्ट्रेलियाबीचको दोस्रो टी–२० बुधबार हुँदैछ ।
