काठमाडौं ।
एसियाली प्लेअफमा संयुक्त अरब इमिरेट्स (यूएई) माथि जित निकाल्दै अस्ट्रेलिया फिफा विश्वकप कतार २०२२ नजिक पुगेको छ । उसले गएरातिको खेलमा २–१ को रोमाञ्चक जित दर्ता गर्यो । कतारस्थित अहमद विन अली स्टेडियममा अस्ट्रेलियालाई जित दिलाउन ज्याक्सन इर्भिन र एज्दिन रुस्टिकले गोल गरे ।
यूएईका काइओले एक गोल फर्काए । खेलको ५३ औं मिनेटमा ज्याक्सनले गोल गर्दै अस्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, अस्ट्रेलियाको अग्रता लामो समय टिकेन । ५७ औं मिनेटमा यूएईका काइओले गोल गर्दै खेल बराबरीमा ल्याए ।
८४ औं मिनेटमा एज्दिनले गोल गर्दै अस्ट्रेलियालाई २–१ को रोमाञ्चक जित दिलाउँदै विश्वकप नजिक पुर्याए । अब अस्ट्रेलियाले विश्वकपमा स्थान बनाउन सोमबार दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पेरुको सामना गर्नेछ ।
नेसन्स लिगमा हंगेरीमाथि इटालीको रोमाञ्चक जित
यूइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा घरेलु टोली इटाली विजयी भएको छ । ऊ लिग ‘ए’ अन्तर्गत समूह तीनको खेलमा हंगेरीमाथि २–१ गोल अन्तरले विजयी भएको हो ।
ओरोगेल स्टेडियम डिनो मानुजीमा भएको खेलको ३० औं मिनेटमा निकोलो बरेलाको गोलबाट इटालीले सुरुवाती अग्रता लिएको थियो । ४५ औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले घरेलु टोलीको अग्रता दोब्बर पारे । ६१ औं मिनेटमा जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि खेल २–१ को अवस्थामा आयो । त्यसपछि थप गोल निस्कन नसक्दा इटालीले २–१ को रोमाञ्चक जित निकालेको हो ।
जितसँगै दुई खेलमा चार अंक जोडेको इटाली शीर्ष स्थानमा उक्लदाँ पराजित हंगेरी पनि समान खेलबाट चार अंकमा साथ दोस्रो स्थानमा छ । यही समूहको अर्को खेलमा जर्मनी र इंग्ल्याण्डले १–१ को बराबरी खेलेका छन् । लिगअन्तर्गतकै अन्य खेलमा फिनल्याण्ड, बोस्निया एण्ड हर्जगोभिना, टर्की र लक्जेम्बर्गले पनि जित हात पारेका छन् ।
