काठमाडौं ।
नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टआवद्ध पुलिस क्लब माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ को फाइनलमा पुगेको छ । माल्दिभ्स राजधानी मालेस्थित सोसल सेन्टर इन्डोर हलमा गएराति भएको तेस्रो सेमिफाइनलमा क्लब इगललाई ३–१ को सेटमा हराउँदै पुलिस फाइनलमा पुगेको हो ।
खेलमा पुलिसले पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट भने उसले १७–२५ ले गुमाउन पुग्यो । तेस्रो सेटमा २५–२० को जित निकाल्दै पुलिस जित नतिजक पुगेको थियो । रोमाञ्चक बनेको चौथो सेटमा पुलिसले १९–१९ को बराबरीबाट अघि बढ्दै २५–२० को जित हात पार्दै फाइनलको टिकट पक्का गर्यो ।

पुलिसले अब उपाधिको लागि क्लब वाम्कोको सामना गर्नेछ । वान्कोले पहिलो सेमिफाइनलमा पुलिसलाई ३–२ को सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो । अब फाइनलमा वान्कोविरुद्ध बदला लिँदै पुलिसलाई उपाधि जित्ने मौका छ । नेपाली राष्ट्रिय टोलीकी अर्की सदस्य उषा भण्डारीआवद्ध दिबेही सिफान्जी क्लब भने चार खेलमध्ये तीन म्याच हार्दै समूह चरणबाटै बाहिरिसकेको छ ।
