काठमाडौं ।
लामो समययता भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीको ब्याट चलेको छैन । उनले शतक बनाउन नसकेको महिनौं भयो । तर, पनि कोहलीले सामाजिक सञ्जालमा भने रेकर्ड बनाउन छाडेका छैनन् । २ वर्षयता शतकीय पारी खेल्न चुकिरहेका उनले सामाजिक प्लेटफर्म इन्स्टाग्राममा भने ठूलो इनिङ खेलेका छन् ।
यस प्लेटफर्ममा विराट कोहलीका २० करोडभन्दा बढी फलोअर्स छन् । उनी २० करोड फलोअर्स भएका विश्वकै पहिलो क्रिकेटर बनेका छन् । कोहली दक्षिण अफ्रिका विरुद्ध जुन ९ बाट सुरु हुने टी–२० सिरिजमा टिम इन्डियाको हिस्सा छैनन् तर फ्यानमा उनको क्रेज भने कायमै छ ।
यो उनको फलोअर्स संख्याबाट अनुमान गर्न सकिन्छ। विराट कोहलीले यस सामाजिक प्लेटफर्ममा कुनै एउटा पोस्ट गरेबापत् पाँच करोड भारु कमाउँछन् । विराट तेस्रो नम्बरमा परेका छन् । यस प्लेटफर्ममा सबैभन्दा धेरै फलोअर्सको कुरा गर्दा, पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको नाम विश्वभरका खेलाडीहरूको शीर्षमा आउँछ ।
उनका ४५ करोड १० लाख (४५.१ करोड) फलोअर्स छन् । रोनाल्डोपछि अर्जेन्टिनाका स्टार लियोनल मेस्सी छन् । मेस्सीलाई ३३४ मिलियन (३३४ मिलियन) फ्यानले फलो गरेका छन् ।















