यस्तो हुनसक्छ बलियो टोली जोर्डनविरुद्ध नेपालको प्लेइङ–११

Image

काठमाडौं ।

एएफसी एसियन कपको तेस्रो चरणको छनोटअन्तर्गत नेपालले आज बलियो टोली जोर्डनको सामना गर्दैछ । नेपाल र जोर्डनबीचको खेल राति १ बजे कुवेत सिटीमा हुनेछ । यदि आज जोर्डनविरुद्ध २ गोल गर्न सके नेपालले इतिहास रच्नेछ । हालसम्म एकै खेलमा नेपालले जोर्डविरुद्ध २ गोल गर्न सकेको छैन ।

नेपाल टिमका लागि यो प्रतियोगिता कठिन परीक्षा हुने पक्का छ । टिममा युवा खेलाडीको बाहूल्यता छ । कतिपय खेलाडी पहिलो पटक विदेशी भूमिमा खेल्दैछन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग असझमदारी बढेपछि तत्कालिन कप्तान किरणकुमार लिम्बूसहित ११ जना सिनियर खेलाडी राष्ट्रिय टिममा छैनन् ।

एन्फा होस्टलमा सुविधा बढाउनु पर्ने वा नेपाली टिम होटलमा राख्नुपर्ने माग राखेपछि अलमुताइरीले रोहित चन्दलाई प्रशिक्षण छाडेर जान भने पछि विवाद सुरु भएको थियो । त्यसपछि प्रशिक्षकले युवा खेलाडी समेटेर बन्द प्रशिक्षण सञ्चालन गरेका थिए । युवा टिमले घरेलु मैदानमा नेपालमा उपलब्ध अफ्रिकन खेलाडीसँग अभ्यास खेल खेलेका थिए । वर्तमान समयमा जोर्डन फिफा वरियताको ९१ औं स्थानमा छ । नेपाल भने वरियताको १६८ औं स्थानमा छ ।

नेपाल र जोर्डनबीच कस्तो छ विगत?

नेपालले हालसम्म जोर्डनसँग चार खेल खेलको छ । जसमा नेपालले तीन हार एक बराबरीको नतिजा निकालेको छ । नेपाल–जोर्डनले सन् २०११ मा पहिलोपटक एकअर्काको सामना गरेका थिए । विश्वकप छनोटअन्तर्गतको उक्त भेटमा नेपालविरुद्ध जोर्डनले ९–० को फराकिलो जित हात पारेको थियो ।

सोही वर्ष विश्वकप छनोटअन्तर्गत नै घरेलु मैदानमा नेपालले जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो । नेपालले विश्वकप छनोटअन्तर्गत सन् २०१९ र २०२१ मा भएको भेटमा समान ३–० को हार बेहोरेको थियो । इतिहास हेर्दा नेपालले जोर्डनसँग १६ गोल बेहोर्दा एक गोल मात्र फर्काउन सकेको छ ।

नेपालको सम्भावित–११ : गोलकिपर- दीप कार्की, रक्षकः गौतम श्रेष्ठ (राइट डिफेन्स), सुमन अर्याल (लेफ्ट डिफेन्स), विकास खवास र विकास तामाङ (सेन्ट्रल), मिडफिल्डरः सुरजजिउ ठकुरी, सेसेहाङ आङदेम्बे, पुजन उपरकोटी, स्ट्राइकरः आयुश घलान, नवयुग श्रेष्ठ (कप्तान), मनिष डाँगी

यो पनि : नेपाल र बलियो टोली जोर्डनबीच खेलको लाईभ हेर्न सकिने, यस्तो छ हेर्ने तरिका