काठमाडौं ।
आयोजक अस्ट्रिया र हंगेरीले ४ र ५ जुनमा टी–२० अन्तर्राष्ट्रिय शृंखला खेले । तीन खेलको सिरिज १–१ को बराबरीमा सकियो । पहिलो खेलमा अस्ट्रियाले हंगेरीलाई १०५ रनले हरायो । दोस्रो खेल वर्षाका कारण रद्द भयो । तेस्रो खेलमा हंगेरीले अस्ट्रियालाई चार विकेटले पराजित गर्यो । यो खेलमा हंगेरीका ब्याटर जीशान कुकीखेलले विश्व कीर्तिमान पनि बनाए ।
जिशानले तेस्रो खेलमा ४९ बलमा १३७ रनको धमाकेदार शतक बनाए । टी–२० अन्तर्राष्ट्रियमा लक्ष्य पछ्याउने क्रममा उनले बनाएको स्कोर नै हालसम्मकै ठूलो हो । कीर्तिमानी ब्याटिङ गर्ने क्रममा जिशानले आफ्नो पारीमा १५ छक्का प्रहार गरे । यद्यपि उनले अफगानिस्तानका हजरतुल्लाह जजाईं (१६ छक्का) को विश्व कीर्तिमान भने तोड्न सकेनन्।
जुन ४ मा भएको पहिलो टी–२० मा पहिलो खेल खेलेको अस्ट्रियाले २० ओभरमा ५ विकेट गुमाएर २०१/५ रनको विशाल स्कोर बनाएको थियो । जवाफमा हंगेरीको टोली ९६ रनमा सीमित भयो । मिर्जा अहसान १९ बलमा ४९ रनको आकर्षक इनिङ्सका लागि म्यान अफ द म्याच घोषित भए । अस्ट्रियाका साहिल मोमिनले १९ रनमा ४ विकेट लिए ।
जुन ४ मा दोस्रो टी–२० खेल वर्षाका कारण रद्द भएको थियो । उक्त खेलमा हंगेरीको टोली १६ ओभरमा ८९ रनमा मात्रै अलआउट भए पनि अस्ट्रियाले ब्याटिङ गर्ने मौका पाएन । यस खेलमा पनि शाहिल मोमिनले २२ रन दिएर चार विकेट लिए ।
जुन ५ मा भएको तेस्रो टी–२० मा अस्ट्रियाले २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो जसमा रज्मल सिगिवालले ४७ बलमा ९५ रनको शानदार पारी खेलेका थिए । तर, जिशानले शृंखला जित्ने आयोजकको आशामा ठूलो धक्का पुर्याए । र, उनको आक्रामक पारीले खेलको नतिजा बदल्यो । तीन खेलको सिरिजमा जिशाने सर्वाधिक १६२ रन बनाए । अस्ट्रियाका शाहिल मोमिनले सर्वाधिक आठ विकेट लिए ।















