बलियो जोर्डनविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, दीप कार्कीले रचे इतिहास

Image

काठमाडौं ।

एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग पराजित भएको छ । गएराति कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा भएको खेलमा नेपाल जोर्डनविरुद्ध २–० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा जोर्डनलाई रोकेको नेपाल दोस्रो हाफमा भने त्यसलाई निरन्तरता दिन सकेन ।

जोर्डनको जितमा अलि ओल्वन र हाम्जा अल दारदौरले एक–एक गोल गरे । पहिलो हाफमा नेपालका गोलकिपर दीप कार्कीले पेनाल्टी बचाउँदा जोर्डन दबाबमा आएको थियो । पहिलो आधिकारिक प्रतियोगितामै सुरुवाती ११ मा स्थान बनाएका दीपले खेलको ४३औँ मिनेटमा जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाएका थिए ।

योसँगै दीपले इतिहास रचेका छन् । उनले डेब्यू खेलमै एसियन कप छनोटमा पेनाल्टी जोगाउने पहिलो नेपाली गोलरक्षक बन्दै इतिहास रचेका हुन् । जितसँगै जोर्डनले पहिलो खेलबाट ३ अंक जोडेको छ । नेपाल बिनाअंक समूह ‘बी’ को पुछारमा छ । बुधबार नै भएको खेलमा आयोजक कुवेत इन्डोनेसियासँग १–० ले पराजित भयो । अब नेपालले २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोटमा बंगलादेश पराजित भएको छ । समूह ‘ई’ अन्तर्गत बुधबार भएको खेलमा बंगलादेशलाई बहराइनले २–० गोलले पराजित गर्‍यो । मलेसियामा जारी समूहका खेलमा बहराइका लागि अली अब्दुल्लाह हसनले ३४ र अल अस्वादले ४२ मिनेटमा गोल गरेका थिए।