सुनिल क्षेत्री चम्किँदा एसियन कप छनोटमा भारतको विजयी सुरुवात

Image

काठमाडौं ।

एएफसी एसियन कप २०२३ छनोट तेस्रो चरणको पहिलो खेलमा दक्षिण एसियाली टोली भारतले सहज जित निकालेको छ । छनोटअन्तर्गत बुधबार भएको समूह ‘डी’ को खेलमा भारतले कम्बोडियालाई २–० गोल अन्तरमा हरायो । घरेलु मैदानमा भारतलाई जिताउन दुवै गोल कप्तान सुनिल क्षेत्रीले गरे ।

खेलको १४ औं मिनेटमा प्राप्त पेनाल्टी सदुपयोग गरेका सुनिलले ६०औं मिनेटमा दोस्रो गोल गर्दै भारतको जित निश्चित गरे । यही समूहको अर्को खेलमा हङकङले अफगानिस्तालाई २–१ गोल अन्तरमा हरायो । हङकङलाई जिताउन वाई ओङ र म्याथ्यु इलिओट विङ काईले १–१ गोल गरे। अफगानिस्ताना लागि फारसाद नुरले सान्तवना गोल फर्काए ।

बुधबारै भएको अर्को खेलमा समूह ‘ई’ मा रहेको बंगालदेश बहराइनसँग २–० गोल अन्तरमा पराजित भयो । बहराइनलाई जिताउन अलि हराम र कामिल अल आश्वादले गोल गरेका थिए । यस्तै, समूह ‘सी’ मा रहेको अर्को दक्षिण एसियाली टोली श्रीलंका उज्वेकिस्तानसँग ३–० ले पराजित भयो ।

उज्वेकिस्तानमै भएको खेलमा घरेलु टिमलाई जित दिलाउँन जलोलिदिन मसारिपोभ, दोस्तोनबेक खाम्दामोभ र फारुख सेफिभले एक–एक गोल गरेका थिए । समूह ‘सी’ मै रहेको माल्दिभ्स थाइल्याण्डसँग समान ३–० गोल अन्तरमा पराजित भयो । उज्वेकिस्तानमा भएको खेलमा थाइल्याण्डलाई जिताउन सारच योयेन, तिरासिल दाङ्गडा र तान्सा हेम्भिबुनले गोल गरे ।