आयोजक मलेसियामाथि नेपालको शानदार जित, कृतिकाले गरिन् अविश्वसनीय बलिङ

Image

काठमाडौं ।

आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत घरेलु टोली मलेसियाविरुद्ध नेपाल २५ रनले विजयी भएको छ । जारी प्रतियोगितामा नेपालको यो तेस्रो जित हो । यसअघि नेपालले पहिलो खेलमा कतारलाई ७९, तेस्रो खेलमा भुटानलाई चार विकेटले हराएको थियो । यूएई र थाइल्याण्डविरुद्ध भने नेपालले हार बेहोर्यो ।

यूएई र थाइल्याण्डसँगको हारसँगै विश्वकप खेल्ने नेपालको समाप्त भएको थियो । आफ्नो पाँचाैँ खेलमा युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ८६ रन बनायो ।

नेपालको लागि ओपनर अञ्जली विश्वकर्माले ३३, आश्मा पुलामी मगरले अविजित २६ रन बनाए । किरण कुमारी कुँवर शून्य, सृष्टि जैशी, अनु कडायत र सनु राजवंशी तीन/तीन रनमा आउट भए ।

मलेसियाकी नुर डानिया अब्दुल सामदले दुई, एलिस हन्टरले एक विकेट लिइन् । ८७ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो । उसका लागि एलिस हन्टरले सर्वाधिक २८ रन बनाइन् ।

नेपालका लागि कप्तान कृतिका मरासनीले ४ ओभरमा एक मेडनसहित ६ रन दिएर महत्वपूर्ण दुई विकेट लिइन् । त्यस्तै, मनिषाकुमारी उपाध्यायले एक विकेट हात पारिन् । नेपाललाई एक विकेट रनआउटको रूपमा प्राप्त भयो ।