काठमाडौं ।
एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग पराजित भएको छ । गएराति कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा भएको खेलमा नेपाल जोर्डनविरुद्ध २–० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा जोर्डनलाई रोकेको नेपाल दोस्रो हाफमा भने त्यसलाई निरन्तरता दिन सकेन ।
जोर्डनको जितमा अलि ओल्वन र हाम्जा अल दारदौरले एक–एक गोल गरे । पहिलो हाफमा नेपालका गोलकिपर दीप कार्कीले पेनाल्टी बचाउँदा जोर्डन दबाबमा आएको थियो । पहिलो आधिकारिक प्रतियोगितामै सुरुवाती ११ मा स्थान बनाएका दीपले खेलको ४३औँ मिनेटमा जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाएका थिए ।
योसँगै दीपले इतिहास रचेका छन् । उनले डेब्यू खेलमै एसियन कप छनोटमा पेनाल्टी जोगाउने पहिलो नेपाली गोलरक्षक बन्दै इतिहास रचेका हुन् । जितसँगै जोर्डनले पहिलो खेलबाट ३ अंक जोडेको छ । नेपाल बिनाअंक समूह ‘बी’ को पुछारमा छ । अब नेपालले २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।
एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोटमा बंगलादेश पराजित भएको छ । समूह ‘ई’ अन्तर्गत बुधबार भएको खेलमा बंगलादेशलाई बहराइनले २–० गोलले पराजित गर्यो । मलेसियामा जारी समूहका खेलमा बहराइका लागि अली अब्दुल्लाह हसनले ३४ र अल अस्वादले ४२ मिनेटमा गोल गरेका थिए ।
जोर्डनपछिको खेलपछि के भन्छन् प्रशिक्षक अल्मुताइरी?
बलियो टोली जोर्डनविरुद्धको खेलपछि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रतिक्रिया दिएका छन् । उनले युवा खेलाडीले राम्रो प्रदर्शन गरेको बताए । केही गल्तीका कारण जोर्डनलाई रोक्न भने असफल भएको बताए । ‘हाम्रो युवा टोलीले फिफा वरियतामा धेरै माथि रहेको जोर्डनविरुद्ध राम्रो खेल्यो । टिमले अझै राम्रो खेल्न सक्थ्यो । केही गल्तीका कारण हामी चुक्न पुग्यौं । समग्रमा जोर्डनविरुद्ध नेपालको प्रदर्शन राम्रो रह्यो । बाँकी खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने कोसिस जारी रहनेछ,’ अल्मुताइरीले खेल सकिएपछि भने ।
उनलेले फेसबुकमार्फत पनि जोर्डनविरुद्ध नेपालको प्रदर्शनबारे प्रतिक्रिया जनाएका छन् । ‘आदरणीय नेपाली फ्यानहरू, खेलाडीहरू देश, झण्डा र तपाईंका लागि कडा संघर्षरत छन्, मलाई हाम्रा नायकहरूमा धेरै गर्व छ, हामी अझै हाम्रो रणनीतिको सुरुवातमा छौं,’ अल्मुताइरीले लेखेका छन्, ‘तपाईंको माया र समर्थनको लागि धन्यवाद ।’















