राहुलको स्थानमा टिमको कप्तानी पाएपछि के भन्छन् ऋषभ पन्त?

Image

काठमाडौं ।

दक्षिण अफ्रिकाविरुद्धको पाँच खेलको टी–२० सिरिजबाट बाहिरिएपछि केएल राहुलको स्थानमा ऋषभ पन्त बनेका छन् । उनले नै अब घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी–२० सिरिजको कप्तानी गर्नेछन् । सिरिजको पहिलो खेल बिहीबार राति हुँदैछ ।

सिरिजअघि अचानक कप्तानी पाएपछि पन्तले प्रतिक्रिया दिएका छन् । उनले राहुलको अनुपस्थितिले केही असर परे पनि बाँकी ब्याटरले त्यो पूर्ति गर्ने बताए । ‘केएल राहुल ओपनर थिए, त्यसैले ब्याटिङ क्रममा धेरै परिवर्तन हुनेछैन । केही परिवर्तन भने अवश्य हुनेछ । हामीसँग धेरै ओपनर छैनन्। कसले खेल्छ तपार्इं अनुमान गर्दै गर्नुस्, यसबारे टोलीसँग कुरा गर्नेछौं,’ पन्तले भनेका छन् ।

भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टी–२० म्याच दिल्लीमा हुँदैछ, यो पन्तको घरेलु मैदान पनि हो । उनले घरेलु फ्यानहरूका अगाडि कप्तानी गर्ने मौका पाउनेछन् । यसबारे पन्तले भने, ‘यो धेरै राम्रो भावना हो, जब तपाइँ आफ्नो गृहनगरमा कप्तानको अवसर प्राप्त गर्दै हुनुहुन्छ । आईपीएलमा कप्तानको अनुभव मेरो लागि धेरै उपयोगी हुनेछ ।’

दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजअघि राहुलसहित पछिल्लो समय लयमा रहेका कुलदीप यादव पनि टोलीबाट बाहिरिएका छन् । उनीहरू अभ्यासका क्रममा चोट लागेपछि टिमबाट बाहिरिएका हुन् । राहुल बाहिरिएपछि कप्तानी पन्तलाई र उपकप्तानको जिम्मेवारी हार्दिक पाण्ड्यालाई दिइएको छ ।