काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि खेलाडी छनोट गर्ने भएको छ। एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि साउन ९ गते सोमबारबाट खेलाडी छनोट गरिने जनाएको छ ।
एन्फाले सदस्य जिल्ला र क्लबलाई छनोटमा खेलाडी पठाउन पत्र पठाईसकेको छ । एन्फाले २०६२ साल पुस १६ पछि जन्म भएका खेलाडीलाई मात्र छनोटमा सहभागी गराईने जनाएको छ । श्रीलंकामा आयोजना हुने साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ । यस्तै भियतनाममा हुने यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ ।
बार्सिलोनासँग लेवान्डोस्कीको ४ वर्षका लागि करार :
बार्सिलोनाले पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई बायर्न म्युनिखबाट ४ वर्षका लागि अनुबन्ध गरेको छ । सो करारको मूल्य ५ करोड युरो रहेको बताइएको छ । ३३ वर्षीय खेलाडीको जर्मन च्याम्पियनसँग अझै १ वर्षको करार बाँकी रहेको थियो । तर, गत मे मा नै उनले आफ्नो बायर्नसँगको यात्रा सकिएको उद्घोष गरेका थिए ।
अनुबन्धको प्रक्रिया पुरा भएसँगै उनी अमेरिकाको भ्रमणमा रहेको बार्सिलोना टोलीसँग सहभागी हुन पुगेका छन् । अन्ततः म यहाँ छु, बार्सिलोना आउन पाउँदा खुसी छु, उनले भनेका छन् । उनले आफूलाई सधैँ ला लिगामा खेल्न मन लागेको सुनाए ।
गत सिजन बायर्नलाई लगातार १० औँ लिग उपाधि जिताउने क्रममा उनले ४६ खेलमा ५० गोल गरेका थिए । उनले क्लबका लागि ३७४ खेलमा ३४४ गोल गरेका छन् । क्लबको सर्वाधिक गोलकर्ताको सूचीमा उनी दोस्रो स्थानमा रहेका छन् ।