काठमाडौं ।
साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज बुधबार दोस्रो खेल खेल्दैछ । नेपालले दोस्रो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ ।
नेपाल र श्रीलंकाबीचको खेल प्रत्यक्ष प्रशारण हुनेछ । इलाभेन स्पोर्ट्सबाट खेल प्रत्यक्ष प्रशारण हुनेछ । नेपाल र माल्दिभ्सबीचको खेल हेर्न Elevensports यस लिंकमा जानुहोस । नेपाल लगातार दोस्रो जितको खोजीमा हुने छ। यस्तै श्रीलंका नेपालविरूद्ध साफ यू-२० च्याम्पियनसिपको पहिलो जितको खोजीमा हुने छ। नेपालले साफ यू-२० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको छ।
आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० को भारी गोल अन्तरले हराएर सुखद् सुरुवात गरेको नेपाल लगातार दोस्रो जितको लक्ष्यमा मैदान उत्रनेछ । माल्दिभ्सविरुद्ध उच्च प्रदर्शन गरेको नेपाल श्रीलंकाविरुद्ध पनि सोही प्रदर्शनलाई निरन्तरता दिँदै लगातार जितको खोजीमा हुनेछ । फाइनल यात्रालाई थप सहज बनाउन पनि नेपाललाई श्रीलंकाविरुद्ध जित आवश्यक छ ।
टोलीसँग सिनियर राष्ट्रिय टोलीबाट अनुभव बटुलिसकेका मिडफिल्डर तथा टोलीका कप्तान आयुष घलानको साथ रहेको छ । आयुषसँगै अग्रपङ्तिमा सुगम सुवालले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । दिपेश गुरुङ, कृतिश रत्न छुन्जु, मनग्य नकर्मी र आशिष राईले मिडफिल्डमा प्रभाव जमाएका थिए । अजय चौधरी, सुमित श्रेष्ठ, अभिषेक वाइवा, सन्दीप कार्कीसँगै गोलरक्षक ईश्वर गुरुङले टोलीमा स्थान बनाउने देखिन्छ ।
यता, पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको श्रीलंका नेपाललाई स्तब्ध पार्दै पहिलो जितको खोजीमा हुनेछ । श्रीलंकालाई पनि फाइनल पुग्ने सम्भावना जीवित राख्न यो खेलमा जितको खाँचो छ । यस च्याम्पियनसिप यू–१८ र यू–१९ मा नेपाल र श्रीलंका पहिलो पटक भिड्न लागेका हुन् । अघिल्लो दुई संस्करणमा सहभागिता नजनाएको श्रीलंकाले तेस्रो संस्करणमा समूह चरणका दुवै खेलमा बंगलादेश र भारतसँग समान ३–० को हार बेहोरेको थियो ।
नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले श्रीलंकाविरुद्धको खेलको लागि टोली तयार रहेको बताए । ‘हामी च्याम्पियनसिपको लागि सम्पूर्ण तयारी पूरा गरेर नै यहाँ आएका छौं । पहिलो जितले टोलीको मनोवल बढेको छ । बंगलादेश र श्रीलंकाबीचको खेल पनि हेर्न पायौं,’ प्रशिक्षक केसीले भने, ‘श्रीलंकाविरुद्धको खेलका लागि त्यही अनुसारको प्रशिक्षण गरेका छौं । श्रीलंकाविरुद्धको खेलमा नेपालको थप सुन्दर खेल तपाईहरुले हेर्न पाउनुहुनेछ ।’
यसअघि यू–१८ र यू–१९ को नाममा हुँदै आएको च्याम्पियसिप यसपालीदेखि यू–२० को नामबाट भइरहेको छ । हालसम्म यसको तीन संस्करण सकिँदा नेपालले दुई तथा भारत एक पटक च्याम्पियन बनेको छ । नेपालले १५ साउनमा आयोजक भारतको सामना गर्नेछ । राउन्ड रोविनको अन्तिम खेल नेपालले १७ साउनमा बंगलादेशसँग खेल्ने तालिका छ । सहभागी ५ टोलीको राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । फाइनल २० साउनमा हुनेछ ।
साफ यू–२० को इतिहास
साफ यू–२० नाममा पहिलोपटक आयोजना हुन लागेको भएपनि यस प्रतियोगिताको सुरुवात सन् २०१५ मा भएको थियो । २०१५ मा साफ यू–१९ को नामबाट सुरुवात भएको यस प्रतियोगिता चौथो संकरणसम्म आइपुग्दा साफ यू–२० मा रूपान्तरण भएको हो । २०१७ र २०१९ मा यसलाई साफ यू–१८ को नामबाट आयोजना गरिएको थियो । हालसम्म यसको तीन संस्करण समापन भइसक्दा नेपालले दुई तथा भारतले एक उपाधि हात पारेका छन् ।
सन् २०१५ मा साफ यू–१९ को नाममा घरेलु भूमिमै आयोजना भएको यो प्रतियोगिताको पहिलो संकरणको उपाधि नेपालले जित्यो । उसले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै उपाधि हात पारेको हो । समूह चरणमा भुटानलाई ३–१ र बंगलादेशलाई २–१ ले हराएको नेपालले सेमिफाइनलमा अफगानिस्तालाई ३–२ ले पराजित गरेको थियो ।
सन् २०१८ मा यो प्रतियोगिता साफ यू–१८ को नामले भुटानमा आयोजना गरियो । यो पटक पनि विजेता बन्दै नेपालले उपाधि रक्षा गर्न सफल भयो । सिंगल राउण्ड रोबिनाका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा नेपालले माल्दिभ्स र भारतलाई समान २–० तथा बंगलादेशलाई २–१ ले पराजित गर्दा भुटानसँग १–० को हार बेहोरेको थियो । बंगलादेशसँग समान ९ अंक रहे पनि नेपाल ‘हेड टु हेड’ को आधारमा शीर्ष स्थनमा रहँदै विजेता बनेको हो ।
सन् २०१९ मा पनि यो प्रतियोगिता साफ यू–१८ कै नामले आयोजना गरियो । नेपालमै आयोजना भएको यो संस्करणको उपाधि भारतले उचाल्यो । भारतले फाइनलमा बंगलादेशलाई २–१ ले हराउँदै उपाधि उचालेको हो । अघिल्लो दुई संस्करणको विजेता नेपालले भने घरेलु भूमिमै समूह चरण पार गर्न सकेन ।
समूह ‘ए’ मा रहेको नेपालले माल्दिभ्ससँग १–१ को बराबरी खेल्दा भुटानसँग ३–० को फराकिलो हार बेहोर्यो । पहिलो संस्करणमा समूह ‘बी’ का दुवै खेलमा हार बेहोरेको माल्दिभ्सले समूह चरण पार गर्न सकेन । ऊ अफगानिस्तासँग ३–१ र भातसँग ३–० ले पराजित भएको थियो ।
सिंगल राउण्ड रोबिनाका आधारमा सञ्चालित प्रतियोगिताको दोस्रो संस्करणमा पनि माल्दिभ्स बिना जित अन्तिम रहेर बाहिरियो । माल्दिभ्स भुटानसँग १–०, नेपाल र बंगलादेशसँग समान २–० तथा भारतसँग २–१ ले पराजित भएको थियो । अघिल्ला दुई संकरणमा जितविहीन हुँदै बाहिरिएको माल्दिभ्सले तेस्रो संस्करणमा भने तेस्रो स्थान हासिल गर्यो ।
भुटान गोलरहित तथा नेपालसँग समान १–१ को बराबरी खेल्दै समूह ‘ए’ को उप विजेतका रुपमा सेमिफाइनल पुगेको माल्दिभ्स भारतसँग ४–० ले पराजित हुँदै फाइनलमा स्थान बनाउन असफल रह्यो । माल्दिभ्सले तेस्रो स्थानका लागि भएको खेलमा भुटानलाई १–० ले पराजित गरेको थियो ।