Khabar Board
Flash logo up side
flash header

भारतसँगको विशाल हारबारे नेपाल पुगेलगत्तै यस्तो भन्छन् प्रशिक्षक र कप्तान

Nirbachan m

काठमाडौं ।

भारतमा आयोजना भएको साफ यु–२० साफ च्याम्पियनसिपमा सहभागी भइ बिहीवार नेपाली युवा टोली स्वदेश फर्किएको छ । आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाएको प्रतियोगितामा सहभागी भएर नेपाल टोली स्वदेश फर्किएको हो ।

प्रतियोगितामा चार खेल खेलेको नेपालले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो । उपाधिको लक्ष्यसहित भारत प्रस्थान गरे टोलीले सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेपनि बाँकी दुई टोलीसँग अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भएको थियो ।

कोरोनाका कारण उमेर समूहका खेल प्रभावित हुँदा खेलाडी खुला प्रतिष्पर्धाबाट छनोट गरिएको थियो । सुरुवाती दुई खेलमा सुखद् नतिजा निकाल्दा तारिफ पाएका प्रशिक्षक मेघराज केसीले भारतसँगको हारपछि आलोचित भएका थिए ।

बिहीवार स्वदेश फर्किएका प्रशिक्षक केसीले तेस्रो खेलमा भारतसँग पराजयले दक्षिण एशियामा नेपाली टोलीको मिहेनेत नपुगेको स्वीकार गरे । केसीले मिहेनतका बाबजुत पनि नतिजा अपेक्षा अनुसारको नतिजा हात नलाग्दा आपूm निकै दुःखी भएको बताए ।

‘साफ खेल्दा भारतले आफ्नो वास्तविक टोली निकाल्दैन । हामीले धेरै पटक अध्ययन गर्‍यौं । श्रीलंका र बंगलादेशको खेललाई हामीले अध्ययन गर्‍यौं । तर, हामीसँगको खेलमा अर्कै खेलाडी थिए,’ केसीले भने, ‘हामीसँग खेलेका खेलाडीहरू इण्डियन सुपर लिग (आईएसएल) को अनुभव बटुलिसकेका थिए ।’

Center article

उनले थपे ‘पहिलो र दोस्रो खेल जितेर नेपाली फुटबल कमजोर छैन भन्ने छवि बनाएको हामीलाई तेस्रो खेलमा भारतले स्तर देखाइदियो । हामीमा अझै पनि मिहिनेत र लगानी पुगेको छैन,’ प्रशिक्षक केसीले भने, ‘आजको दिनमा भारतले साफलाई आफ्नो स्तर नै मान्दैन । भारतले धेरै माथिको स्तर बनाइसकेको छ । यो सत्य हो ।’

यस्तै कप्तान आयुष घलानले भारतसँगको हारले टोलीलाई धेरै पाठ सिकाएको बताए । फराकिलो पराजय भएपनि भारतसँगको खेलबाट नेपाली टोलीमा शारीरिक खेल र टेक्कनीकल विषयमा अझै मिहेनेत गर्न आवश्यक रहेको घलानको बुझाई रह्यो । भारतसँग फराकिलो हार हुनुमा खेलाडीमा अनुभव कम भएको कप्तान आयुषले बताए ।

‘भारतसँगको खेलअघि हामी मानसिक रुपमा कमजोर थिएनौं । जितको लक्ष्य पूरा भएन । यो खेलले हामीलाई ठूलो पाठ सिकाएको छ । शारीरिकदेखि प्राविधिक ज्ञानमा हामी धेरै पछि रहेछौं,’ उनले भने, ‘धेरै खेलाडीहरू नयाँ थिए, फरक परिस्थितिमा कसरी सम्हालिएर खेल्ने उनीहरूमा अनुभवको कमी देखियो ।’

राउण्ड रोबिन लिगको प्राणालीमा आयोजना भएको प्रतियोगितामा नेपाल तेस्रो बन्दा फाइनलको ढोका बन्द भएको थियो । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले माल्दिभ्सालाई ४–० ले पराजित भएको थियो भने आफ्नो दोस्रो खेलमा श्रीलंकामाथि ३–० को जित निकालेको थियो ।

तेस्रो खेलमा भारतसँग ८–० को लज्जास्पद हार भोगेको नेपालले अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो । प्रतियोगितामा भारत र बंगलादेश शीर्ष दुई टोलीको रुपमा फाइनल प्रवेश गरेका छन् । फाइनल शुक्रवार हुँदैछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.