काठमाडौं ।
पछिल्लो समय एकपछि अर्को नेपाली खेलाडी अष्ट्रेलिया पलायन भइरहेका छन् । खेलाडी विदेशीने शृंखला कायम हुँदा अर्का एक नेपाली खेलाडी अष्ट्रेलिया पुगेका छन् । नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका मिडफिल्डर हेमन्त थापा मगर पनि अष्ट्रेलिया पलायन भएका छन् । हेमन्त शनिबार अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।
उनले गत सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिग थ्री स्टार क्लबबाट खेलेका थिए । त्यसअघि उनले च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए । हेमन्तले ६ जुन २०१६ मा भारतसँगको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए ।
हेमन्त उमेर समूहको साफ विजेता खेलाडी हुन् । उनले सन् २०१५ को यू–१९ साफ च्याम्पियनसिपमा भारतविरुद्धको फाइनल खेलमा पेनाल्टी सुटआउटमा गोल गरेका थिए । सो संस्करणको उपाधि नेपालले पेनाल्टी सुटआउटमा भारतलाई ५–४ ले हराउँदै नेपालले जितेको थियो ।
नेपाली फुटबलर विमल राना पनि अष्ट्रेलिया पलायन
फुटबल खेलाडी विदेशीने शृंखला कायम हुँदा अर्का एक नेपाली खेलाडी अष्ट्रेलिया पुगेका छन् । राष्ट्रिय टिमबाट खेलिसकेका फरवार्ड विमल राना अष्ट्रेलिया गएका हुन् । गत सिजन मनाङ मर्स्याङ्दी क्लबबाट ए डिभिजन लिग खेलेका विमल नेपालमा फुटबल खेल नभएपछि विदेशीएका छन् ।
केही समयअघि मात्रै राष्ट्रिय टिमका दर्शन गुरुङ, सन्तोष गुरुङ र नविन गुरुङ अष्ट्रेलिया पुगेका थिए । त्यसअघि आशिष लामा र सुमन लामा पनि अष्ट्रेलिया नै पुगिसकेका छन् । त्यसैमा विमल राना पनि थपिएका हुन् । विमलले २०७५ चैतमा कुवेतविरुद्धको मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।