Khabar Board

मेस्सी चम्किँदा पीएसजीको शानदार जित

काठमाडौं ।

पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा विजयी सुरुआत गरेका छन् । शनिबार राति नयाँ सिजनको पहिलो खेलमा क्लेरमन्ट फुटलाई ५-० गोल अन्तरले हराउँदै पीएसजीले सुखद सुरुआत गरेको हो ।

पीएसजीको जितमा लियोनल मेस्सीले दुई गोल गरे । यस्तै नेयमार, अचरफ हाकिमी र कप्तान मार्किन्हसले एक एक गोल गरे ।

खेलको नवौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । २६ औं मिनेटमा हाकिमीले गोल गर्दा पीएसजी २-० ले अघि रह्यो ।

खेलको ३८ औं मिनेटमा मार्किन्हसले गोल गर्दा पीएसजीको अग्रता तेब्बर बन्यो। खेलको ८० औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई ४-० को अग्रता दिलाए।

त्यसपछि खेलको ८६ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ५-० को जित दिलाए । जितसँगै पीएसजीले सिजनको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

यस्तै इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ। गुडिसन पार्कमा शनिबार राति भएको खेलमा चेल्सीले एभर्टनविरुद्ध १-० गोल अन्तरको साँघुरो जित निकालेको हो ।

चेल्सीको जितमा जोर्गिन्होले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा जोर्गिन्होले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई तीन अंक दिलाएका हुन् ।

बेन चिलवेललाई एभर्टनका डुकुरेले पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि चेल्सीले पेनाल्टीको अवसर पाएको थियो ।

यस जितसँगै चेल्सीले सिजनको सुखद सुरुआत गरेको छ। चेल्सीले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।एभर्टनले भने हारबाट सिजनको सुरुआत गरेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.