Khabar Board

नेपाल टी–२० लिगबारे आयो यस्तो नयाँ खबर

काठमाडौं ।

नेपाल टी–२० लिगको घोषणासँगै नेपाली क्रिकेटमा नयाँ अध्यायको सुरुआत हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपटक आयोजना गर्न लागेको फ्रेन्चाइज लिग आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ। लिगमा नेपालका विभिन्न ६ शहरका ६ टोलीको सहभागीता हुँदैछ।

क्यानले लिगमा सहभागी रहने चार टोलीको नाम र टिम मालिकको घोषणा गरिसकेको छ। जसमा तीन टोलीको स्वामित्व विदेशी कम्पनीको नाममा रहेको छ। विश्वमा फ्रेन्चाइज लिगको बढ्दो क्रेजसँगै क्यानलाई नेपाल टी–२० लिगलाई स्थापित गराउनु कठिन रहेको छ।

विश्वमा धेरै फ्रेन्चाइज लिग रहेको सन्दर्भमा नेपाल टी–२० लिगले आफ्नो स्थान फरक र विशेष बनाउन जरुरी रहेको छ। क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकले एसोसिएट मुलुकमा फ्रेन्चाइज आयोजना हुनु नै सबैभन्दा विशेष मान्छन्।

‘एसोसिएट राष्ट्र भएकाले हामीलाई लिग आयोजनाका लागि कठिन नै रहेको थियो। तर, हाम्रो अथक मेहनत र क्रिकेट समर्थकको साथ रहेकाले यो सरल भयो,’ पाठकले भने, ‘पूर्ण सदस्य राष्ट्रका खेलाडीसँग नेपालका खेलाडीले ड्रेसिङ रूम सेयर गर्न पाउँछन्। उनीहरुबाट क्रिकेट क्षमता तथा अनुभव लिई त्यसबाट आफ्नो खेल सुधार गर्न सकिन्छ।’

क्यान निलम्बनमा रहँदा नेपालमा केही निजी फ्रेन्चाइज क्रिकेट लिगहरुको आयोजना भए। क्यान अहिले ती लिगभन्दा स्तरीय बनाउने योजनासहित अघि बढेको छ। ‘हिजोका दिनमा क्यान नरहँदा विभिन्न निजी घरानाहरुले विभिन्न लिगहरूको आयोजना गरेँ। यसले नेपाली क्रिकेट बचाइ राख्न केही मद्दत मिल्यो । तिनीहरूले माथिल्लो स्तरको क्रिकेटको अनुभूति दिलाएको छ यसलाई अझ बढाउने हाम्रो कर्तव्य रहेको छ। र, त्यो स्तरीयता मैदानमा देखिने छ,’ पाठकले भने।

क्यान हरेक कुरा बोलेरभन्दा पनि मैदानबाट नै देखाउने पक्षमा रहेको पनि उनले बताए। ‘केही वर्षमा पूरा विश्वमा त नसकिएला तर एसोसिएट र केही कमजोर टेस्ट राष्ट्रहरूमा यो लिग स्तरिय र फरक हुनेछ,’ पाठकले थपे।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.