राष्ट्रिय टिमकी मिडफिल्डर दीपाले भारतीय क्लबबाट खेल्ने

Image

काठमाडौं ।

राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य एवम् मिडफिल्डर दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने भएकी छिन्। नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहेकी उनी उक्त प्रतियोगिताका लागि आज दिउँसो नै भारत प्रस्थान गरेकी छिन्।

उनले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीबाट खेल्नेछिन्। केरेला महिला लिगको च्याम्पियन टोली आइलिगमा छनोट हुनेछ। ‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु। यो मेरो विदेशमा पहिलो अवसरसमेत हो’, उनले भनिन्।

हाल नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी पनि भारतमा छिन्। उनले गोकुलम केरेला क्लबबाट एएफसी कप खेल्दैछिन्। केरेला प्रतियोगितामा गोकुलमसहित, केरेला ब्लास्टर, केरेला युनाइटेडलगायत १० टोलीको सहभागिता रहनेछ। केरेला लिगमा डन बोस्को साबिक उपविजेता हो।

दीपाले दुई महिनाका लागि आफूले सम्झौता गरेको बताइन्। उनले आइलिगमा छनोट भए, त्यसमा पनि अवसर मिल्ने सम्भावना रहेको बताइन्। डन बोस्कोले आफ्नो पहिलो खेलमा भोलि लड्र्स पिआरविरुद्ध खेल्नेछ।

भारतमा सावित्राले गरिन् गोलको वर्षा, टिमलाई दिलाइन् शानदार जित

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी आबद्द गोकुलम केरेलाले केरेला महिला लिगमा फराकिलो जित निकालेको छ । बुधबार गोकुलमले करेला युनाइटेड एफसीलाई ११–० ले हराउँदा सावित्राले ५ गोल गरेकी थिइन् ।

२७ मिनेटमा ह्याट्रिक पूरा गरेकी सावित्राले पहिलो हाफमा ४ गोल गरिन् । केरेलाविरुद्ध गोकुलमले पहिलो हाफमै ६–० को अग्रता लिएको थियो। सावित्राले टोलीको लागि पहिलो, तेस्रो र चौथो, पाँचौं र आठौं गोल गरेकी थिइन् । सन्धियाले २ गोल, कप्तान कश्मिना, रेश्मा, एड्जिल र हर्मिलानले समान १ गोल गरे ।

तेस्रो मिनेटमा गोलको खाता खोलेकी सावित्राले छैटौं मिनेट व्यक्तिगत दोस्रो र २७ औं मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् । उनले व्यक्तिगत चौथो गोल ३५ औं मिनेटमा गरेकी थिइन् । ५६ औं मिनेटमा उनले अर्को गोल गरेकी थिइन् ।

गोकुलम केरेला लिगसँगै महिला आइ लिग च्याम्पियन टिम पनि हो। अर्को महिना गोकुलमले एएफसी क्लब च्याम्प्यिनसिप खेल्ने तालिका रहेको छ। सोही प्रतियोगिता खेल्न सावित्रा शनिबार भारत गएकी थिइन्। उज्बेकिस्तानमा समूह चरणको खेल यहिँ अगस्ट २० देखि २६ सम्म हुनेछ।

समूह चरणमा गोकुलमले उज्बेकिस्तानको सोग्दियाना, जोर्डनको अर्थडक्स क्लब र इरानको क्लब खातुन बाम एफसीसँग खेल्ने तालिका रहेको छ। गोकुलमले सावित्रालाई एक सिजनका लागि अनुबन्ध गरेको हो।

सावित्राले यस अघि चौंथो संस्करणको महिला लिग गोकुलमबाट खेलेकी थिइन्। चौंथो संस्करणको लिगमा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन्। सावित्राले त्यस सिजन १६ गोल गरेकी थिइन्। उक्त सिजन गोकुलमले उपाधि जितेको थियो।