काठमाडौं ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी आबद्द गोकुलम केरेलाले केरेला महिला लिगमा फराकिलो जित निकालेको छ । बुधबार गोकुलमले करेला युनाइटेड एफसीलाई ११–० ले हराउँदा सावित्राले ५ गोल गरेकी थिइन् ।
२७ मिनेटमा ह्याट्रिक पूरा गरेकी सावित्राले पहिलो हाफमा ४ गोल गरिन् । केरेलाविरुद्ध गोकुलमले पहिलो हाफमै ६–० को अग्रता लिएको थियो। सावित्राले टोलीको लागि पहिलो, तेस्रो र चौथो, पाँचौं र आठौं गोल गरेकी थिइन् । सन्धियाले २ गोल, कप्तान कश्मिना, रेश्मा, एड्जिल र हर्मिलानले समान १ गोल गरे ।
तेस्रो मिनेटमा गोलको खाता खोलेकी सावित्राले छैटौं मिनेट व्यक्तिगत दोस्रो र २७ औं मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् । उनले व्यक्तिगत चौथो गोल ३५ औं मिनेटमा गरेकी थिइन् । ५६ औं मिनेटमा उनले अर्को गोल गरेकी थिइन् ।
गोकुलम केरेला लिगसँगै महिला आइ लिग च्याम्पियन टिम पनि हो। अर्को महिना गोकुलमले एएफसी क्लब च्याम्प्यिनसिप खेल्ने तालिका रहेको छ। सोही प्रतियोगिता खेल्न सावित्रा शनिबार भारत गएकी थिइन्। उज्बेकिस्तानमा समूह चरणको खेल यहिँ अगस्ट २० देखि २६ सम्म हुनेछ।
समूह चरणमा गोकुलमले उज्बेकिस्तानको सोग्दियाना, जोर्डनको अर्थडक्स क्लब र इरानको क्लब खातुन बाम एफसीसँग खेल्ने तालिका रहेको छ। गोकुलमले सावित्रालाई एक सिजनका लागि अनुबन्ध गरेको हो।
सावित्राले यस अघि चौंथो संस्करणको महिला लिग गोकुलमबाट खेलेकी थिइन्। चौंथो संस्करणको लिगमा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन्। सावित्राले त्यस सिजन १६ गोल गरेकी थिइन्। उक्त सिजन गोकुलमले उपाधि जितेको थियो।