Khabar Board
Flash logo up side
flash header

यस्तो छ एन्फाको वार्षिक क्यालेन्डर, अन्यौलमा रहेको नेपाल सुपर लिगसहित घरेलु लिगको मिति टुङ्गो लाग्यो

Nirbachan m

काठमाडौं ।

वर्षभरी घरेलु फुटबल प्रतियोगितालाई ब्यस्त राख्ने गरि एन्फाले वार्षिक क्यालेन्डर तयार गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को बिहीबारको कार्यसमिति बैठकले वार्षिक क्लालेन्डरलाई पारित गरेको हो । क्यालेन्डर पारित भएसँगै अन्यौलमा रहेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) सहित घरेलु लिगको मिति टुङ्गो लागेको छ ।

आगामी असोज महिनाबाट घरेलु फुटबलको सिजन सुरु हुनेछ । असोज महिनाभर ‘सी’ डिभिजन लिगको छनोट खेल हुनेछ । ‘सी’ छनोटको विशेषता भनेको यसपटकका छनोट खेलहरु काठमाडौं केन्द्रित मात्र हुने छैनन् । काठमाडौं सहित विभिन्न चार स्थानमा छनोट प्रतियोगिता गर्ने एन्फाको निर्णय गरेको छ । यस निर्णयले ‘सी’ डिभिजनमा उक्लिन मोफसलका क्लबलाई सजिलो हुनेछ ।

असोज महिनाअघि एन्फाले भाद्र २० देखि ३१ सम्म श्रीलंकामा साफ यू–१७ च्याम्पियनसिप खेल्ने तालिका बनाएको छ । त्यसपछि घरेलु मैदानमै भाद्र २१ देखि ३ गतेसम्म महिला साफ च्याम्पियनसिपको आयोजना गर्नेछ । त्यसपछि भाद्र २५ देखि असोज २ गतेसम्म नेपालले बहराइनमा एएफसी यू २० छनोट खेल्नेछ । असोजमै १९ देखि २३ गतेसम्म नेपालले भियतनाममा एएफसी यू १७ छनोट पनि खेल्ने तालिका छ ।

सी छनोट चलिरहदाँ एन्फाले नेपाल र बंगलादेशबीच असोज ११ गते काठमाडौंमा मैत्रीपूर्ण खेलको आयोजना गरेको छ । असोजकै अन्तिम साता २३ देखि मंसिर २ गतेसम्मका लागि एन्फाले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग आयोजनाका लागि नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट कम्पनीलाई समय उपलब्ध गराएको छ ।

फ्रेन्चाईज फुटबल चलिरहदाँ एन्फाले राष्ट्रिय फुटसल लिगको छनोट प्रतियोगिता असोज २४ देखि कात्तिक ५ गतेसम्म राखेको छ । त्यसपछि एन्फाले असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समय दिएको छ ।

एन्फाले कात्तिक १ देखि पुस ६ गतेसम्म अन्तर विद्यालय स्तरीय राष्ट्रिय फुटबल प्रतियोगिताको समय निकालेको छ । त्यही समय कात्तिक १४ देखि मंसिर २९ गतेसम्म जिल्ला लिग र राष्ट्रिय लिग सञ्चालन गर्ने एन्फाको निर्णय छ । सोही कात्तिक महिना नेपालको साफ यू–१५ महिला टिम च्याम्पियनसिप खेल्न बंगलादेश जानेछ ।

मंसिरदेखि पुसको तेस्रो सातासम्म एन्फाले कतार विश्वकप फुटबलको समय कुनैपनि फुटबल गतिविधि नगर्ने तालिका बनाएको छ । त्यसपछि मंसिर ८ देखि पुस २ गतेसम्म मोफसलका फुटबल प्रतियोगितालाई एन्फाले समय उपलब्ध गराएको छ । त्यही समयमा मंसिर १५ देखि २४ गतेसम्म ६ महानगरका शहर सम्मिलित लिग कम नकआउटको महानगर कप आयोजनाको तालिका छ । मंसिर १० देखि पुस २ सम्म चितवनमै राष्ट्रिय वुमन्स लिगको अन्तिम चरणका खेल सञ्चालन गर्ने एन्फाको निर्णय छ ।

Center article

महिला लिग लगत्तै शहीद स्मारक ए डिभिजन लिगको सिजन सुरु गर्ने एन्फाको योजना छ । अहिलेलाई पुस ८ देखि चैत ४ गतेसम्मलाई लिगको मिति प्रस्ताव गरिएको छ । अघिल्लो वर्ष सञ्चालन गरिएको सप्ताह लिगकै ढाचामा प्रतियोगिता सञ्चालन गर्ने एन्फाको प्रस्ताव छ । घरेलु फुटबलमा नयाँ नेतृत्व आएपनि लिगको संरचना बदलिने छैन, लिग सिंगर राउण्ड रोबिनका आधारमै खेलाईनेछ ।

यस वर्ष उमेर समूहको राष्ट्रिय महिला लिगको नयाँ प्रतियोगिता सुरुवात गर्ने एन्फाको तयारी छ । फागुन १० देखि ३० गतेसम्म फिफाको वुमन्स प्रोग्राम अन्तर्गत यू–१८ राष्ट्रिय महिला लिग प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन गर्ने एन्फाको निर्णय छ ।

घरेलु लिग सकिने लगत्तै चैत २ देखि बैशाखसम्म मोफसल प्रतियोगिताको सिजन सुरु हुनेछ । सोही समय बी डिभिजन लिग प्रतियोगितापनि संगसंगै अघि बढ्नेछ । बी डिभिजन लिगका लागि एन्फाले चैत ६ देखि बैशाख १५ गतेसम्मको मिति प्रस्ताव गरेको छ । सोही समय चैतमै ६ गतेदेखि ३० गतेसम्म राष्ट्रिय फुटसल लिग आयोजना गर्ने एन्फाको निर्णय छ । बी डिभिजन चलिरहदाँ चैत १० देखि ३० सम्म प्रदेश लिग र बैशाख १० देखि ३० गतेसम्म एन्फा प्रेशिडेन्ट लिग सञ्चालन गर्ने एन्फाको तालिका छ ।

बैशाखमा बी डिभिजन लिग सकिएपछि बैशाख १८ गतेदेखि २७ गतेसम्म सी डिभिजन लिग आयोजना हुनेछ । सिजनको अन्तिममा एन्फाले उमेर समूहको फुटबल प्रतियोगिता ललित मेमोरियल यू १८ फुटबल जेठ २९ देखि असार १० गतेसम्म सञ्चालन गर्ने तालिका तयार पारेको छ ।

निकै अन्यौलका बीच एन्फाले वार्षिक क्यालेन्डर तयार गरेर निर्णय गरेको हो । फुटबल संघमा नयाँ नेतृत्व आएपनि घरेलु फुटबलको संरचना बदल्ने खालको कुनै योजना र कार्यक्रम वार्षिक क्लालेन्डरमा छैन । सी डिभिजनको छनोट काठमाडौं बाहिर गर्ने बाहेक अन्य कुनै नयाँ कार्यक्रम क्यालेन्डरमा देखिदैन ।

सबैभन्दा महत्वपुर्ण विषय शहीद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनमा कुनै परिवर्तन गरिएको छैन । सिंगल राउण्ड रोबिनमा ‘ए’ डिभिजन खेलाउने र ‘बी’ र ‘सी’ डिभिजनलाई महिना दिनमै सक्ने पुरानै ढाचा यस सिजन पनि देखिन्छ । समग्र फुटबलले अपेक्षा गरेको ‘होम एण्ड अवे’ र ‘डबल राउण्ड रोबिन लिग’को कार्यक्रम यस वर्षपनि फुटबलले देख्न नपाउने भएको छ । खेलपाटीबाट साभार गरिएको हो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.