नेपाली टिमका खेलाडीबीच रहेको गुटबन्दीबारे यस्तो भन्छन् मुख्य प्रशिक्षक प्रभाकर

Image

काठमाडौँ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका खेलाडीबीच रहेको गुटबन्दी अन्त्य गर्ने दावी गरेका छन् । काठमाडौँ आएपछि आइतबार पत्रकारसँगको अन्तरक्रियाका क्रममा भारतीय पूर्व क्रिकेटर प्रभाकरले खेलाडीबीचको गुटबन्दीलाई अन्त्य गर्ने दावी गरेका हुन् ।

यसअघि पुबुदु दासानायकेले दोस्रो पटक नेपाली टिमको मुख्य प्रशिक्षक भएको ७ महिना पनि बित्न नपाउँदै राजीनामा दिएका थिए तर जाँदाजाँदै दासानायकेले नेपाली क्रिकेट टिम भित्र साना-साना समूह रहेको भन्दै नेपाली टिमभित्र रहेको गुटबन्दी बारेमा मुख खोलेका थिए । तर प्रभाकरले भने त्यो गुटबन्दी अन्त्य गर्ने बताए ।

‘हामी अहिले एउटा परिवारको रुपमा रहेका छौं । यदि परिवार भित्रै समूहहरु भयो भने परिवार चल्दैन । त्यसैले मैले खेलाडीहरुलाई स्पष्टसँग भनेको छु कि यदी तपाई पीडामा हुनुहुन्छ भने सबैले त्यो महसुस गर्नुपर्छ । यदी हामीले एउटा परिवारको रुपमा खेल्ने तथा संघर्ष गर्ने हो भने भविष्य राम्रो हुन्छ,’ प्रभाकरले भने ।

उनले टिमभित्रको गुटबन्दी अन्त्य गर्ने आफूसँग केही उपाय रहेको समेत दावी गरे। ‘विश्वभरी नै यस्तै हुन्छ तर यससँग कसरी जुध्ने भन्नेबारेमा तपाईसँग तरिका हुनुपर्छ । यदि टिमभित्र कसैले अरुभन्दा फरक सोच्छ भने उसमाथि खेल जित्नुपर्ने दवाव कायम गर्नुपर्छ अनिमात्र परिणाम राम्रो आउछ,’ भारतका लागि ३९ टेष्ट तथा १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका प्रभाकरले थपे ।

अफगानिस्तान क्रिकेट टिम तथा भारतको रञ्जी ट्रफी खेल्ने टिम दिल्ली, राजस्थान तथा युपीको प्रशिक्षक भइसकेका प्रभाकरले नेपाली टिममा युवा खेलाडीहरु रहेका कारण आफ्ना अनुभव साट्दै चाँडै त्यसको प्रतिफल आउन सक्ने सम्भावना रहेको बताए ।

‘उनीहरुले जति चाँडो सिक्छन्, त्यति चाँडो राम्रो प्रदर्शन गर्छन् । टिमका खेलाडीहरुमा सुन्ने क्षमता भएको जुन सकारात्मक कुरा हो । मलाई आशा छ यसरी नै गयो भने नेपाली क्रिकेटको भविष्य सुनौलो हुनेछ,’ प्रभाकरले भने ।

प्रभाकरले मुख्य लक्ष्य भनेको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ का सकेसम्म बढी भन्दा बढी खेल जित्ने पहिलो लक्ष्य रहेको उनले बताए। उनले नेपालले टेष्ट खेल्नका लागि त्यसका लागि योग्य छ भनेर एकदिवसीय क्रिकेटबाट प्रमाणित गर्नुपर्ने बताए। ‘त्यसका लागि नेपाली टिम टेक्निक राम्रो हुनुपर्नेछ । हामीले टेक्निकमा काम गर्नुपर्छ। हामीले सकेसम्म बढी भन्दा बढी एकदिवसीय खेल्नुपर्छ,’ उनले थपे।

यो पनि : नेपालको ब्याटिङ समस्याबारे यस्तो भन्छन् मुख्य प्रशिक्षक प्रभाकर