Khabar Board

नेपालको ब्याटिङ समस्याबारे यस्तो भन्छन् मुख्य प्रशिक्षक प्रभाकर

काठमाडौं ।

नेपाली क्रिकट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली ब्याट्सम्यानहरुमा टेक्निकको अभाव देखेको बताएका छन् । यसमा सुधार गर्ने आफूसँग योजना रहेको, तर यसका लागि समय चाहिने उनले बताए । नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका प्रभाकर शनिबार मात्र नेपाल आएका हुन् ।

नेपाल आएको भोलिपल्ट सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रभाकरले भने, ‘केएल राहुलले सही टेक्निकका साथ खेलेको र १०० रन बनाएको मैले देखेको छु । विराट कोहलीले टेक्निक प्रयोग गर्छन् र शतक बनाउँछन् । टी–२० मा पावर गेम खेल्नु पर्दैन ।’

उनले अघि भने, ‘यदि टेक्निक छ भने जुन सुकै फर्म्याटमा जुन सुकै बेला रन बनाउन सकिन्छ । अहिले नेपाली ब्याट्सम्यानहरुमा त्यही अभाव देखेको छु ।’

भारतका पूर्वअलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन्। प्रभाकरले भारतका लागि ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए। उनले अफगानिस्तानको बलिङ प्रशिक्षक रहेर काम गरिसकेका छन्। उनले रणजी ट्रफी टिम दिल्लीसँगै राजस्थान र युपी क्रिकेट एसोसियनको प्रशिक्षक भएर काम गरिसकेका छन्।

प्रभाकरले एक दशकभन्दा भारतको राष्ट्रिय टिमका लागि खेले। सन् १९८४ डिसेम्बरमा इंग्ल्याण्डविरुद्ध टेष्टमा डेब्यु गरेका प्रभाकरले १९९५ मा न्यूजिल्याण्डविरुद्ध अन्तिम टेष्ट खेलेका थिए। यस्तै, उनले १९८४ कै अप्रलिमा श्रीलंकाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए।

१९९६ मा श्रीलंकाविरुद्ध नै उनले अन्तिम एकदिवसीय खेले। बलिङ अलराउण्डर रहेका प्रभाकरले ३९ टेष्टमा ९६ र १३० एकदिवसीयमा १५७ विकेट लिएका थिए। टेष्टमा उनको उच्च स्कोर १२० थियो। उनले टेष्टमा एक शतक र ९ अर्धशतकसहित एक हजार ६ सय रन बनाएका थिए।

एकदिवसीयमा भने उनले एक हजार ८५८ रन बनाए। उनले एकदिवसीयको उच्च स्कवर १०६ थियो। १५४ फस्ट क्लास क्रिकेट खेलेका उनले ७ हजारभन्दा बढी रन बनाएका छन् भने ३८५ विकेट लिएका छन्। उनले सन् १९८७, १९९२ र १९९६ को एकदिवसीय विश्वकपसमेत खेलेका थिए। लोअर अर्डमा ब्याटिङ गर्ने गाजियाबाद उत्तरप्रदेशका प्रभाकरले कुनै खेलमा ओपनिङसमेत गरेका थिए।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.