काठमाडौं ।
नेपाल र केन्याबीचको टी–२० र एकदिवसीय सिरिजको प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपालमा याक्सन स्पोर्ट्स एचडीले प्रत्यक्ष प्रसारण गर्नेछ । त्यस्तै, भीयूस्पोर्ट् (VUSPORT), आईसीसी टीभी र WILLOW बाट पनि खेलको लाइभ हेर्न पाइनेछ ।
केन्यासँग टी–२० सिरिजअन्तर्गत पहिलो म्याच खेल्दैछ। यी दुई देशबीचको खेल नेपाली समयअनुसार बिहीबार आज दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ। पाँच खेलको सिरिजमा नेपाल पहिलो म्याचमा विजयी हुँदै सुखद् सरुवात गर्न चाहन्छ।
घरेलु टोली केन्या पनि पहिलो खेलमै नेपाललाई स्तब्ध बनाउने लक्ष्यसहित मैदानमा उत्रिनेछ। तुलनात्मक रूपमा नेपाल केन्याभन्दा बलियो टिम हो। आईसीसीको टी–२० अन्तर्राष्ट्रिय वरियतामा नेपाल १४औं स्थानमा रहँदा केन्या ३०औँ नम्बरमा छ।
केन्याले घरेलु मैदानको फाइदा उठाउन सक्छ। तर, नेपाललाई हराउन केन्यालाई त्यति सजिलो भने पक्कै हुने छैन। केन्या पाँचपटक विश्वकप क्रिकेट खेलिसकेको टिम हो। केन्याले चारपटक एकदिवसीय विश्वकप र एकपटक टी–२० विश्वकप खेलेको थियो।
केन्या सन् २००३ को एकदिवसीय विश्वकपमा सेमिफाइनलमा पुगेको थियो। पछिल्लो पटक सन् २००७ को टी–२० विश्वकप खेलेपछि भने केन्याले छनोट भएको छैन। कुनै समय राम्रो लयमा रहेको केन्या पछिल्लो समयले एसोसिएट देशको दोस्रो डिभिजनको लिग च्यालेन्ज लिग खेलिरहेको छ।
नेपालले पहिलो म्याचमा मंगलबार केन्या पुगेको टिम खेलाउने सम्भावना छ। किनकि बाँकी पाँच खेलाडी बुधबार मात्रै केन्या उडेका छन्। नेपालका लागि आसिफ शेख र ज्ञानेन्द्र मल्लले ओपनिङ गर्ने सम्भावना बलियो छ। किनकि कुशल भुर्तेल टिम बाहिर छन्।
तेस्रो नम्बरमा देव खनाल, चौथोमा रोहित पौडेलले मौका पाउँदा पाँचौंमा दीपेन्द्रसिंह ऐरी, छैटौंमा आरिफ शेख, सातौंमा अर्जुन साउँद, आठौंमा पवन सर्राफ, नवौंमा करण केसी, दशौंमा सन्दीप लामिछाने र एघारौंमा किशोर महतो खेल्नेछन्।
किशोर र अर्जुनका लागि यो डेब्यू म्याच हुनेछ। अर्जुन पहिलोपटक राष्ट्रिय टिममा परेका हुन् भने महतोले यसअघि नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरिसकेका छन्। सोमपाल कामी, आदिल आलम, बासिर अहमद, शाहब आलम र विवेक यादवले पहिलो टी–२० म्याच गुमाउने सम्भावना उच्च छ। भिसा समस्याका कारण उनीहरू ढिलो गरी केन्या पुग्दैछन्।
नेपालको सम्भावित प्लेइङ–११ :
ज्ञानेन्द्र मल्ल, आसिफ शेख (विकेटकिपर), देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अर्जुन साउँद, पवन सर्राफ, करण केसी, सन्दीप लामिछाने (कप्तान) र किशोर महतो।
यो पनि : ९ वर्षपछि आज केन्यासँग भिड्दै नेपाल, यस्तो छ दुवै टोलीकाे हेड टु हेड नतिजा