केन्यासँग पहिलो खेल खेल्नु अघि नेपाललाई ठूलो झड्का, यी दुई खेलाडीले खेल गुमाउने

Image

काठमाडौं । नेपालका दुई खेलाडीले केन्याविरुद्धको पहिलो टी-ट्वान्टी खेल गुमाउने भएका छन् ।

स्पिनरद्वय शाहब आलम र बसिर अहमदले आज हुने पहिलो खेल गुमाउने भएका छन्।

भिसा समस्याका कारण दुबै खेलाडी आज मात्र केन्या प्रस्थान गर्ने छन् ।

नेपाल क्रिकेट संघ(क्यान)का क्रिकेट म्यानेजर विनोद दासले उनीहरु आज बिहान त्यसतर्फ जाने बताए ।

‘सोमपाल कामी र विवेक यादव हिजो बेलुका नै केन्या पुगेका छन् । आदिल आलम भने केन्याको समयअनुसार आज बिहान १० बजे पुग्नेछन्,’ दासले भने, ‘खेल १ बजेबाट सुरु हुने हुँदा टिममा उनीहरुको उपलब्धता रहन्छ । तर, उनीहरु खेल्ने नखेल्ने भने मुख्य प्रशिक्षक, कप्तान तथा टिम व्यवस्थापनले निर्णय लिने छ ।’

५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपालले आज बिहीबार पहिलो खेल खेल्दैछ ।

नेपाल र घरेलु टोलीबीच खेल नैरोवीस्थित जिमखाना मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

नेपाली टोली आज सुखद सुरुआतको योजनामा हुनेछ । नेपालका कप्तान सन्दीप लामिछानेले टिमको लक्ष्य सबै खेल जित्ने रहेको बताईसकेका छन् ।

यस खेल राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको पहिलो खेल समेत हो ।

यो पनि : ९ वर्षपछि आज केन्यासँग भिड्दै नेपाल, यस्तो छ दुवै टोलीकाे हेड टु हेड नतिजा

यो पनि : नेपाल र केन्याबीचको खेल ‘लाइभ’ हेर्न पाइने, यस्तो छ तरिका