काठमाडौं ।
छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भईरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा बंगलादेशले २-० गोलको अग्रता बनाएको छ ।
खेलको १४ औं मिनेटमा शामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । मोनिका चक्माको पासमा शामसुनाहरले उत्कृष्ट भली गोल गरे । खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई २-० को अग्रता दिलाएकी छिन् ।
नेपाल र बंगलादेश जसले जितेपछि साफको नयाँ च्याम्पियन बन्दै इतिहास रच्नेछन् । बंगलादेशले प्राविधिक रुपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो । नेपाललाई घरेलु मैदान र दर्शकको राम्रो साथ छ । प्रतियोगितामा फाइनल यात्रा तय गर्दा दुवै टोलीको दुई समानता छ । दुवैले यसअघि ५ पटक च्याम्पियन बनेको भारतलाई हराइसकेका छन् । खनी दुवैले अहिलेसम्म गोल खाएका छैनन् । भारतको दबदबालाई तोडिसकेका दुवै टोली अब फाइनल जितेर ट्रफी उचाल्ने योजनामा छ ।
नेपालले सेमिफाइनलमा भारतलाई १-० ले हराएर फाइनलमा इतिहास बनाएको हो । साफ इतिहासमै नेपालले भारतलाई हराएको यो पहिलो पटक हो । नेपाल पाँचौ पटक फाइनल पुगेको हो । यस्तै बंगलादेशले पनि समूह चरणमा भारतलाई ३-० ले पराजित गरेको थियो । बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिप फाइनल पुग्ने क्रममा भुटानलाई सेमिफाइनलमा ८-० ले हरायो ।
बंगलादेशले फाइनलसम्म आइपुग्दा २० गोल गर्दा नेपालले ११ गोल गरेको छ । नेपालले समूह चरणमा भुटानलाई ४-० र श्रीलंकालाई ६-० ले पराजित गरेको थियो । बंगलादेशले माल्दिभ्सलाई ३-० ले, पाकिस्तानलाई ६-० र भारतलाई ३-० ले पराजित गरेको थियो । पहिलो पटक च्याम्पियन बन्ने अवसरलाई दुवै टोलीले राम्रोसँग बुझेका छन् । नेपालको महिला फुटबल टिमले पछिल्लो १२ वर्षमा ९ प्रतियोगिताको फाइनल खेल्दा उपाधि जित्न सकेको छैन । यस पटक नेपाल त्यो उपविजेताको ट्याग मेटाउन चाहन्छ । साफ च्याम्पियनसिपमा चार र सागमा तीन गरी ७ पटक फाइनलमा भारतसँग नै पराजित भएको नेपाल हिरो वुमन्स गोल्डकपमा म्यानमार र नादेज्दा कपमा उज्वेकिस्तानसँग फाइनलमा पराजित भएको थियो ।
नेपाल र बंगलादेशबीच अहिलेसम्म ८ खेल भएको छ । जसमध्ये ३ खेल साफ च्याम्पियनमै थियो । यस्तै २ खेल दक्षिण एसियाली खेलकुद (साग) र दुई मैत्रीपूर्ण खेल थियो । १ खेल भने ओलम्पिक छनोटमा थियो । ८ वटै खेलमा नेपाल बंगलादेशसँग अपराजित छ । विगत हेर्दा नेपालको पक्षमा छ । तर पछिल्लो समय बंगलादेशले महिला फुटबलमा ग्रासटरुट उमेर समूहदेखि नै महत्व दिँदै आएको छ ।
नेपाल र बंगलादेशबीचबीच एक वर्षअघि दशरथ रंगशालमा पछिल्लो पटक दुई मैत्रीपूर्ण खेल भएको थियो । जसमा एक खेल नेपालले २-१ ले जित्दा एक खेल बराबरीमा सकिएको थियो । त्यसअघि नेपालले साफ च्याम्पियनसिपको ३ र सागको २ खेलमा बंगलादेशलाई पराजित गरेको छ।